काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन गर्दै उनले यथार्थमा जनताप्रति इमानदारिता र वफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए ।
उनले राजनीतिक दलको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सांसदले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने बताए ।
‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरू त्यसअनुसार चल्नुपर्छ । सन्तुलन र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफैं कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ । देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।
उनले सम्मेलनका निष्कर्ष कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकार कानुन व्यवसाय र युवाको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायत काममा उचित ध्यान दिने विश्वास दिलाए ।
प्रतिक्रिया