पाँचथर : कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीले पाथीभरामा केवलकार निर्माण गर्ने र नगर्ने पक्ष बिचको विवाद समाधानका लागि कोशी प्रदेश सरकार र प्रदेश सभाले मध्यस्थता गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन ।
प्रदेश सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले किराँत र हिन्दु धर्मावलम्बीले आस्थाको धरोहरका रूपमा लिँदै आएको पाथीभरा मुकुम्लुङ क्षेत्रमा पछिल्लो समय बढेको तनावले कसैलाई हित नगर्ने भन्दै तत्काल समस्याका लागि पहल कदमी थाल्न सभामुख मार्फत प्रदेश सभा र सरकारको ध्यानाकर्षण गराइन ।
‘पाथीभरा ९मुकुम्लुङ० क्षेत्रको केबलकार परियोजनाले सम्भावित आर्थिक विकास र पर्यटन प्रवर्द्धनका थुप्रै अवसरहरू प्रदान गर्न सक्छ ।
तर, यस परियोजनाका क्रममा स्थानीय समुदायको भावना, पारिस्थितिक सन्तुलन र पारम्परिक सांस्कृतिक महत्वलाई बेवास्ता गरिए त्यसले पार्ने दूरगामी असरका विषयमा कसले र कहिले सोच्ने रु ’ संसद्मा उनको प्रश्न थियो ।
केबलकार परियोजना अघि बढेपछि स्थानीय समुदायले आफ्ना मागहरूमा उचित सम्बोधन नभएको महसुस गर्ने वातावरण नबन्दा सङ्घर्ष समितिको आन्दोलन चर्किँदै गए पनि सरकार र आन्दोलनरत पक्ष बिच बिच संवादको अभावले समस्या झनै जटिल बनेको उनको भनाई थियो ।
‘सरकारले स्थानीय समुदाय, सङ्घर्ष समिति, र सरोकारवाला निकायहरूसँग एकै ठाउँमा बसेर संवादमार्फत समस्या समाधान गर्न पहल गर्नुपर्छ जसका लागि प्रदेश सभा र सरकारको समन्वयकारी भूमिका आवश्यक छ ।’ उनले थपिन ।
स्थानीयका माग र भावनालाई सम्मान गर्दै परियोजनाको कार्यान्वयन गर्नु तथा केबलकार निर्माण गर्दा उनीहरूको पुनर्वास, रोजगारी, र अधिकार सुनिश्चित गर्न विशेष योजना ल्याइनुपर्ने उनको धारणा थियो ।
‘जनताको हक र अधिकारलाई सुनिश्चित गर्दै विकास र शान्तिको सन्देश दिन सक्नुपर्छ। हाम्रो प्रदेशको गौरवपूर्ण सांस्कृतिक धरोहरलाई विवाद मुक्त र सबैको साझा सम्पत्तिका रूपमा स्थापित गर्नु प्रदेश सरकारको दायित्व हो ।’ उनले भनिन । श्रेष्ठ पाँचथरबाट काँग्रेसका तर्फबाट निर्वाचित एक्लो सांसद हुन ।
प्रतिक्रिया