विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सबै धर्म, संस्कृति मान्ने समुदायबिचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
आज (बिहीबार) तामाङ समुदायको महान् चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै कार्कीले चाडपर्वले आपसी एकता बढाउने उल्लेख गरे ।
शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यहाँका विभिन्न समुदायका चाडपर्वले सामाजिक विविधता झल्काउने बताए ।
'नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अङ्गीकार गर्नुको उद्देश्य नै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा संवर्द्धन गर्नु हो,' कार्कीले भने ।
कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गर्न निरन्तर प्रयास गरिरहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।
कार्कीले विविधतायुक्त कोशी प्रदेशमा सहअस्तित्व स्वीकार गर्दै सुखी र समुन्नत प्रदेश निर्माणमा सबै समुदायले महत्त्वपूर्ण योगदान गरिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहकार्य, एकता र आपसी सद्भाव आवश्यक रहेको बताउँदै, नेपालको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र भातृत्वको भावना बढाओस् भन्ने शुभेच्छा व्यक्त गरे।
प्रतिक्रिया