धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगितालाई विशेष बनाउन सबै खालको तयारी पूरा भएको जानकारी दिए । बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ गते देखि २६ गतेसमम्म धरान–१६ रङ्गशालामा हुने भएको छ ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, भुटान फुटबाल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृत क्लब, युके एफसी (भारत) , मच्छीन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपियाँ र उपविजेताले पाँच लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो पुरस्कार राशी धरान बहराईन एकता समाज र धरान समाज युकेले प्रदान गर्ने भएको छ भने दोस्रो पुरस्कार राशी धरान निवासी हाल पोर्चुगलमा रहनु भएको अरुण राईले प्रदान गर्ने भएको आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याचको पुरस्कार रकम माउन्ट एभरेष्ट ड्रेनिङ्ग सेन्टर धरान–१० ले, उत्कृष्ट खेलाडीलाई हाल पोर्चुगलमा रहनु भएको केन्द्र लिम्बुले र चर्चित स्पोट्र्सवेयर केलमीले २५ औं बुढा सुब्बा गोल्ड कपदेखि जर्सि लगायत सम्पूर्ण खेलकुद सामाग्रीहरु ५ वर्षको लागि धरान फुटबल क्लबलाई प्रायोजन गर्ने सम्झौता भएको अध्यक्ष तामाङ्ले बताए ।
प्रतिक्रिया