काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविष्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन् । आज (शुक्रबार) ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘बाहिर गएर भविष्य खोज्ने जमात ठूलै छ । यहीबीच नेपाल फर्किनु पर्ने फर्किएकाहरू पनि थुप्रै छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने । जनतामा विकासको ठूलो अभिष्ट रहेकाले विकासलाई रफ्तारमा अगाडि बढाउनु पर्ने बताए । विश्वव्यापी परिवर्तनलाई नेपालले पनि आत्मसात गर्नुपर्ने उनले बताए । त्यस्तो हुन नसक्दा नेपालबाट ठूलो संख्यामा युवा जनशक्ति पलाएन भइरहेकोतर्फ वाग्लेले चिन्ता व्यक्त गरेका छन् ।
उनले नेपालमा कर तिर्ने युवा विदेशिने क्रम नरोकिनु सोचनीय विषय भएको बताए । ‘नेपालमा जनसंख्या घट्यो भन्ने चिन्ता होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता हो । पाँच-दश वर्षमा यो अवस्था कस्तो होला ? सोचनीय छ,’ उनले भने। नेपालमा उद्योगको कारण बढ्न नसक्दा रोजगारका लागि जनशक्ति बाहिर पलाएन हुने क्रम बढेको वाग्लेले बताए । उनले क्लाइमेट चेन्ज भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् । यो विश्वव्यापी चुनौतिको विषय भएकाले सबैले एक साथ समस्या समाधानमा जुट्नुपर्ने बताए ।
उनले युवाहरूलाई नेपालमा केमा लगानी गर्दा सफलता हासिल गर्न सकिन्छ भन्नेमा चिन्तनशील हुन आग्रह गरेका छन्। पानी जहाँज, कृषि, पर्यटन, विद्युत्लगायत क्षेत्र लागनीका लागि उपयुक्त क्षेत्र हुन सक्ने वाग्लेले सुझाए । डिजिलाइजेशनमा पनि नेपालले ध्यान दिनुपर्ने उनको भनाइ छ । यस्तो गर्न सकेमा नेपालले समृद्धि हासिल गर्नसक्ने वाग्लेले बताए ।
उनले नेपालले क्लाइमेन्ट चेन्ज, युवा पलायनलगायतमा विशेष ध्यान दिनुपर्ने बताए । बाहिर गएका क्षेमतावान मानिसलाई कसरी स्वदेश फिर्ता बोलाउने भन्नेमा ध्यान दिन सके समृद्धिमा टेवा पुग्ने वाग्लेले बताए । यसका साथै भारत र चीनसँगको सम्बन्धमा पनि नेपालले समानजस्यता कामय गर्न सक्नुपर्ने बताए । नेपालमा राजनीतिलाई सङ्ल्याउन आवश्यक रहेको समेत औंल्याका छन् । सङ्लो राजनीतिले मात्र समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ । यी सबै कुराको व्यवस्थापनले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने वाग्लेले बताए ।
प्रतिक्रिया