इटहरी : सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायात सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गरेको योजना अन्तिम चरणमा पुगेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताएका छन्।
आइतबार इटहरीमा आयोजित सडक सुरक्षा सचेतना जागरण अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल यातायात मजदुर सङ्घले सञ्चालन गर्ने सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको कार्यान्वयनका लागि यातायात मजदुर, व्यवसायी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायहरूसँग छलफल भइरहेको जानकारी दिए।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले प्रस्तुत कार्यपत्रमा कोशी प्रदेशभरि सञ्चालन गरिने सडक सुरक्षा सचेतना प्रशिक्षण कार्यक्रमको योजना प्रस्तुत गरे। यस अभियान अन्तर्गत प्रदेश, जिल्ला, पालिका तथा इकाई कमिटीहरूले प्रत्येक महिनामा दुई वटा सडक सुरक्षा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने छन्।
प्रत्येक १५ दिनमा एक प्रशिक्षण दिने लक्ष्य राखिएको छ, जसमा ट्राफिक प्रहरीले खटाएका प्रशिक्षकहरू मार्फत चालक, सहचालक, परिचालक तथा व्यवसायीहरू सम्मिलित हरेक कक्षामा २५ जनालाई प्रशिक्षण प्रदान गरिने छ।
प्रशिक्षण अधिकतम एक घण्टाको हुनेछ, जसमा औपचारिक भाषणभन्दा व्यावहारिक सिकाइमा केन्द्रित गरिने छ। श्रव्य-दृश्य सामग्री प्रयोग गरी सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर तथा चित्रहरू मार्फत जानकारी प्रदान गरिने योजना बनाइएको छ।
मन्त्री भण्डारीले सडक दुर्घटनाको न्यूनीकरणलाई प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्। उनले सडक दुर्घटना न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको भन्दै यातायात मजदुर, व्यवसायी, प्रहरी प्रशासन, नागरिक समाज तथा सरकारको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले सडक दुर्घटना न्यून गर्न ट्राफिक व्यवस्थापनको सुधार, सवारी साधनको नियमित जाँच तथा सचेतनामूलक अभियानहरूलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।
प्रदेश सरकारले सडक सुरक्षासम्बन्धी आवश्यक नियम-कानुन कडाइका साथ कार्यान्वयन गर्ने योजना बनाइसकेको मन्त्री भण्डारीले बताए। सडक सुरक्षा सचेतना जागरण अभियानको उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशीका संयोजक सरोज श्रेष्ठ, नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राई लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कोशी प्रदेश सरकारले निर्माण गरेको सडक दुर्घटना न्यूनीकरण कार्ययोजना अन्तिम चरणमा पुगेको हुँदा यस अभियानले यातायात मजदुर, व्यवसायी तथा ट्राफिक प्रहरीलाई समेट्दै सडक सुरक्षामा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ। प्रदेश सरकार, यातायात मजदुर संगठन तथा प्रहरी प्रशासनको संयुक्त प्रयासले दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायात सुधार गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया