इटहरी : नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले २०८० साल पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिएपछि दाउपेच गर्न सुरु गरेको बताएका छन्।
ज्ञवालीका अनुसार, पुरानै गठबन्धनले १४ महिनासम्म काम गरे पनि युवाहरूमा निराशा, सुन तस्करीको वृद्धि र प्रतिगामी शक्तिहरूले व्यवस्था विरोधी वातावरण सिर्जना गरेकाले एमालेले राजनीतिक हस्तक्षेप गर्न बाध्य भएको हो।
आइतबार इटहरीमा आयोजित तीन महिने जरा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले भने, “हामीले कुनै शर्तबिना ब्लाङ्क चेकमा हस्ताक्षर गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका थियौँ। तर, प्रचण्डले कहिले काँग्रेस र कहिले एमालेको काँधमा बन्दुक राखेर पाँच वर्ष सरकार चलाउने षड्यन्त्र गरे। यसले मुलुकको हितमा काम गर्न नसक्ने देखिएकाले हस्तक्षेप गर्नुपरेको हो।”
ज्ञवालीले एमाले र काङ्ग्रेसबिचको सहकार्यलाई लोकतन्त्रको रक्षकको रूपमा चित्रित गर्दै भने, “२०६४ सालको अपवादबाहेक, एमाले र काँग्रेस सधैँ पहिलो र दोस्रो स्थानमा रहेका दल हुन्। हामीले २०४६ सालको जनआन्दोलन सफल बनाएर प्रजातन्त्र स्थापना गरेका हौँ र २०६२र६३ को आन्दोलनमार्फत गणतन्त्र ल्याएका हौँ।”
उनले प्रचण्डले आफ्नै पार्टीका नेताहरूलाई समेत कमजोर बनाएको आरोप लगाउँदै भने, “प्रचण्डको दाउपेचका कारण एमालेले राष्ट्रपति पदका लागि पासाङ र अमिक शेरचनलाई समर्थन गर्ने प्रस्ताव पनि अस्वीकार गर्यो।”
ज्ञवालीले थप भने, “माओवादीको ३२ सिटको जादुलाई रोक्न र मुलुकका लागि एमाले र काङ्ग्रेसबिच सहकार्यको सम्भावना देखिँदा अहिले गठबन्धन सरकार निर्माण गरिएको हो।”
कार्यक्रममा कोशी प्रदेश इन्चार्ज शेरधन राई, सुनसरी इन्चार्ज जगदीश कुसियत लगायतका नेताहरूले प्रशिक्षण दिएका थिए। एमाले कोशी प्रदेश प्रचार विभागका उपप्रमुख भीम ज्वाला राईका अनुसार, सुनसरीका विभिन्न तहका नेताहरू, जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारीसहित एक हजार दुईसय सहभागी रहेको थियो।
कार्यक्रम एमाले सुनसरी अध्यक्ष पर्शुराम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। अभिमुखीकरण कार्यक्रमको सञ्चालन पार्टी जिल्ला सचिव राम कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य उपसचिव याम सुब्बाले व्यक्त गरेका थिए।
प्रतिक्रिया