इटहरी : अग्रज पत्रकार विष्णु निष्ठुरीलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा पत्रकारिता विधाको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निष्ठुरीलाई सो अवार्ड प्रदान गरेका हुन् ।
वि.सं. २०१९ माघ २३ गते इलामको तत्कालीन गोदम गाउँको माइबसेसीमा जन्मिएका निष्ठुरी पत्रकारले दलीय संलग्नताबाट पृथक् रहेर स्वतन्त्र रूपमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका निष्ठुरी महासंघको इलाम र पाँचथरको संयुक्त शाखा स्थापनाकालदेखि सदस्य रही पत्रकारितामा क्रियाशील छन् ।
एसियाली पत्रकार महासंघका संस्थापक सदस्य र वरिष्ठ उपाध्यक्ष पनि भइसकेका निष्ठुरीका कविता सङ्ग्रह र १९ दिन शीर्षकको जनआन्दोलन डायरी गरी दुई कृति प्रकाशित समेत रहेका छन् । दक्षिण कोरियाबाट प्रदान गरिएको मान्हे नामको अन्तर्राष्ट्रिय स्वतन्त्रता पुरस्कार पाउने निष्ठुरी पहिलो दक्षिण एसियाली पत्रकारसमेत हुन् ।
पत्रकारिताको क्षेत्रमा अनवरत रूपमा क्रियाशील रहेका निष्ठुरीलाई कोशी एक्सिलेन्स अवार्ड २०८१ मा पत्रकारिता विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
सोही मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया