‘कोशी एक्सिलेन्स अवार्ड’ : पूर्व राष्ट्रिय फुटबल खेलाडी दिलीप राईलाई खेलकुद अवार्ड

बुधबार, ०७ फागुन २०८१
इटहरी : पूर्व राष्ट्रिय फुटबल खेलाडी दिलीप राईलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा खेलकुद तर्फको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राईलाई सो अवार्ड प्रदान गरेका हुन् । वि.सं.२०१२ साल पुसमा जन्मिएका राई सानै उमेरदेखि नै खेलकुदमा संलग्न भएका थिए । अहिले उनको उपस्थिति बिना कोशी प्रदेशमा हुने प्रतियोगिताहरू अपूर्णजस्तै हुन्छन् । फुटबलप्रतिको लगावकै कारण राई आफ्नो रिटार्यड जीवन कोशी प्रदेशमा आयोजना हुने हरेक गोल्डकपमा उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गर्दै आएका छन् । उनले सुनसरी जिल्ला फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्को झापा जिल्ला खेलकुद विकास समितिमा कर्मचारी, सुनसरी जिल्ला खेलकुद विकास समितिको सचिव, राष्ट्रिय खेलकुद परिषद् फुटबलको प्रशिक्षकका साथै नेपाल ओलम्पिक कमिटी पूर्वाञ्चलका सदस्यको समेत अनुभव लिइसकेका छन् । उनी भन्छन्, ‘फुटबल नै मेरो जीवन हो ।’ जसका कारण उनी खेलकुदतर्फका अवार्डबाट सम्मानित भएका छन् । साधारण जीवन बाँच्न रुचाउने उनले खेलकुदको सर्वाङ्गीण विकासका निम्ति अविराम रूपमा पु¥याएको भूमिकाको उच्च सम्मान गर्दै राईलाई खेलकुद विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार