इटहरी : देशकै प्रसिद्व र सफल उद्योगीका रूपमा परिचित महेश जाजुलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा कर्पोरेट विधाको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जाजुलाई सो अवार्ड प्रदान गरेका हुन् ।
आफ्ना बुबा स्व.रामानन्द्र जाजुले वि.सं.२००७ सालमा विराटनगरमा सुरू गरेको कपडा पसललाई रूपान्तरण गर्दै चार दशकअघि महेशले उद्योगमा हात हालेका हुन् ।
एसियन थाई फुड प्रा.लि., एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि., हिमगिरी सप एण्ड केमिकल प्रा.लि., गुड लाइफ विभरेज प्रा.लि., इको इन्फ्राइस्ट्रक्चर प्रा.लि. र जाजु ब्रदर्श व्यापारिक प्रतिष्ठानका प्रबन्ध निर्देशक रहेका उनी उत्पादन क्षेत्रमा केन्द्रित रहेका छन् ।
महेश मोरङ व्यापार संघ विराटनगरका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यका साथै विभिन्न सामाजिक तथा आर्थिक मञ्चहरूमा सक्रिय रूपमा सहभागी छन् । नेपाली चाउचाउ रमपम र टु पिएमका सञ्चालक रहेका उनी नेपाललाई उत्पादनहरूमा आत्मनिर्भर बनाउन केन्द्रित रहेको बताउँछन् ।
विदेशी लगानीलाई नेपाल भित्र्याउनुपर्ने बताउने उनले सयौँ मानिसलाई रोजगारी दिएका छन् । जाजुले देशको अर्थतन्त्रलाई नै सबल बनाउन भूमिका खेलिरहेकाले ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा कर्पोरेट विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया