‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ : शान्ता बाँस्कोटालाई कृषि तथा महिला उद्यम विधाको अवार्ड

बुधबार, ०७ फागुन २०८१
इटहरी । कृषि कर्ममा निरन्तर रूपमा सक्रिय रहेकी शान्ता बाँस्कोटा (कोइराला)लाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा कृषि तथा महिला उद्यम विधाको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाँस्कोटालाई सो अवार्ड प्रदान गरेका हुन् । २०३१ साउन २३ गते पाँचथरमा जन्मिएकी बाँस्कोटा जैविक कृषि क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको छवि बनाएकी महिला हुन् । कृषि व्यवसाय क्षेत्रमा महिलामैत्री नीति निर्माणका लागि पैरवी गर्दै आएकी बाँस्कोटाले महिला उद्यमी विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू गर्दै आएकी छन् । घरेलु तथा साना उद्योग महासंघको एसोसियट उपाध्यक्ष, निर्यात व्यवसायी महासंघको उपाध्यक्ष, नेपाल अग्र्यानिक एशोसियसनको महासचिव र सार्क चेम्बर वुमन इन्टरप्रेनर काउन्सिल तथा साउथ एसियन वुमन डेभलपमेण्ट फोरमको बोर्ड सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकी बाँस्कोटा नेपाल महर्षि वैदिक फाउण्डेसनको संस्थापक सदस्य, योग तथा आध्यात्मिक चिन्तनको प्रवद्र्धन तथा सम्वद्र्धनमा समेत सक्रिय भूमिका निर्वाह गरेकी छिन् । नेपालकै पहिलो अग्र्यानिक चिया उत्पादक कम्पनी कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरकी प्रबन्ध निर्देशक, साङ्ग्रिला एग्रो वल्र्ड, नेपाल टी कम्पनीको सञ्चालक रहेकी उनकै नेतृत्वमा चार सय जनाभन्दा बढी साना किसानहरू जैविक कृषिमा आबद्ध भएका छन् । कृषि कर्ममै लागेर अरूलाई समेत प्रेरणा दिने उनै बाँस्कोटालाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा कृषि तथा महिला उद्यम विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार