विराटनगर । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका विद्यार्थीहरु धमाधम घर फर्किरहेका छन् ।
विश्वविद्यालयमा अध्ययनरतमध्ये हालसम्म ८३ जना विद्यार्थी विराटनगरको रानी नाका हुँदै नेपाल फर्किसकेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार रानी नाका भएर नेपाली विद्यार्थीहरु मंगलबारदेखि नै घर फर्किन थालेका थिए । बिहीबार बिहानसम्ममा ८३ जना फर्किएको जानकारी यादवले दिए ।
विद्यार्थीहरुले आफूहरुलाई कुटपिट गरेर निकालिएका कारण घर फर्किएको बताएका छन् । भुवनेश्वरदेखि रेल र सडकमार्ग हुँदै रानी नाकाबाट स्वदेश आइपुगेका विद्यार्थीलाई आआफ्नो घरतर्फ पठाइएको प्रजिअ यादवले बताए । उनका अनुसार रानी नाकाबाट आएकामध्ये सबैभन्दा बढी मोरङका ४१ जना छन् । सुनसरीका १५, सप्तरीका १४, सिरहा र काठमाडौंका ३–३, सर्लाही र धनुषका २–२ तथा ललितपुर, उदयपुर र झापाका १–१ जना फर्किएको जानकारी यादवले दिए ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार नेपाल फर्किएका विद्यार्थीहरुलाई आआफ्नो घरतर्फ जानका लागि सहजीकरण गर्ने गरिएको छ । सीमा क्षेत्रमा विद्यार्थीको सहजीकरणका लागि नेपाल र सशस्त्र प्रहरी तैनाथ छन् । खर्चको अभाव भएकाहरुलाई प्रहरीले आफै गाडी व्यवस्थापन गरेर विराटनगर बसपार्कसम्म ल्याइदिने गरेको छ । बसपार्कबाट भने यातायात व्यवसायीसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाउने गरिएको जानकारी एसपी चिमरियाले दिए ।
उनका अनुसार सबैभन्दा धेरै विद्यार्थी बुधबार नेपाल फर्किएका थिए । बुधबार एकैपटक ७२ जना नेपाल फर्किएका हुन् । मंगलबार ३ जना र बिहीबार बिहान ८ जना फर्किएको जानकारी चिमरियाले दिए ।
ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल गत आइतबार मृत फेला परेकी थिइन् । लम्सालको मृत्यु शंकास्पद रहेको भन्दै न्यायिक छानबिनको माग राखेर त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी उनको शव बुधबार राति रुपन्देही ल्याएर सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ ।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनको न्याका लागि नेपाली विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।
कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेल (छात्रावास)बाट निकालेपछि उनीहरू कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किन बाध्य भएका हुन् । तर, नेपाली विद्यार्थीको आन्दोलनमा भारतीय विद्यार्थीले समेत साथ दिएपछि घटनाले अर्को मोड लिएको थियो ।
विश्वविद्यालयले विद्यार्थीमाथि गरेको गतल व्यवहारको चौतर्फी आलोचना भइरहेको छ । उक्त विश्वविद्यालयमा करिब १ हजार ८ सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
नेपाल प्रवेश गर्ने विद्यार्थीहरुले सँगै पढ्ने साथीको शंकास्पद मृत्यु छानबिनको काम राखेर आन्दोलन सुरु भएपछि कलेज प्रशासनले गुण्डा लगाएर निर्घात कुटपिट गर्न थालेको र असुरक्षित महसुस गरेर नेपाल फर्किनु परेको बताए । विद्यार्थीहरुका अनुसार कुटपिट गर्नुका साथै गुण्डा लगाएर तत्काल कलेज तथा होस्टेल छाडेर जान धम्कीसमेत दिइएको थियो ।
विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृतिको शंकास्पद मृत्युपछि न्याय माग्दा असुरक्षित भएकाले मध्यरातमा कलेज छाडेर निस्कनु परेको गुनासो विद्यार्थीहरुले गरेका छन् । सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आफूहरु कलेज नफर्किने विद्यार्थीहरुले बताएका छन् । उनीहरु नेपाली विद्यार्थीमाथि गरिएको ज्यादतीका कारण फर्किएर जाने हिम्मतसमेत नभएको बताउँछन् ।
ओडिसामा अध्ययनरत नेपाली विद्यार्थीहरु विराटनगरको रानीसहित मुलुकका विभिन्न नाका हुँदै नेपाल फर्किरहेका छन् । हालसम्म करिब अढाई सय विद्यार्थी नेपाल आइसकेका छन् । कलेज प्रशासनको ज्यादतीका कारण असुरक्षित महसुस गरेर उनी घर फर्किएका हुन् । नेपाल फर्किएका विद्यार्थीलाई स्थानीय प्रशासनले सीमानाकामा सहजीकरण गरिरहेको छ ।
तर, नेपाली विद्यार्थीले कलेज छाड्न बाध्य भइरहँदा कलेज प्रशासनले भने घटनाप्रति माफी मागिसकेको छ । कलेज प्रशासनले नेपाली विद्यार्थी फर्काउन अनेक प्रयास गरिरहेको छ । नेपाली विद्यार्थीको सहजीकरणका लागि ओडिसा सरकारको उच्च शिक्षा विभागले ‘हेल्प डेस्क’ नै स्थापना गरेको छ ।
सरकारले घटनाबाट प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप केआईआईटीमा २४ घण्टा नै सञ्चालन हुनेगरी ‘हेल्प डेस्क’ राखिएको र विद्यार्थीको सहजीकरणका लागि ११ जनालाई खटाइएको जनाएको छ । विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि त्यहाँ सहज रूपमा सम्पर्क गर्नसक्ने छन् । ‘हेल्प डेस्क’मा ह्वाट्सएप नम्बर र ४ वटा ल्याण्डलाइन टेलिफोन नम्बर राखिएको छ । ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र रूपमा फर्कन तथा पढाइ पुनः सुरु गर्न आग्रह गरेको छ ।
नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किएर पढाइ जारी राख्न भनिसकेको छ । तर, नेपाल आइपुगेका कतिपय नेपाली विद्यार्थीहरुले असुरक्षित महसुस भएको बताएका छन् । धमाधम कलेज छाड्दै नेपाली विद्यार्थी फर्किन थालेपछि विश्वविद्यालयले भने विशेष छात्रवृत्तिको घोषणा गरेको छ । नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको घोषणा गरिएको हो ।
घटनापछि विश्वविद्यालय नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक निधनले सबैलाई दुखित् तुल्याएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेटसमेत गरेका थिए । सो भेटपछि प्रकृतिका बुवाको इच्छा अनुसार विश्वविद्यालयले उनको नाममा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति सुरु गर्ने उल्लेख गरेको हो ।
यो पहलले प्रकृतिजस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने विश्वविद्यालयको दाबी छ ।
प्रतिक्रिया