मेचीराजमार्गको राजदुवाली खण्ड मर्मत सुरु

शुक्रबार, ०९ फागुन २०८१
इलाम : लामो समयदेखि समस्या झेलिरहेको मेचीराजमार्गको राजदुवाली खण्डको मर्मत कार्य सुरु भएको छ। गत असोजमा भारी वर्षाका कारण क्षतिग्रस्त बनेको यो सडक तत्काल नयाँ कटिङ गरेर सञ्चालनमा ल्याइए पनि समस्या समाधान नभएकाले मर्मत थालिएको हो। सडक डिभिजन कार्यालय इलामका अनुसार यस पटक राजदुवाली खण्डलाई चौडा बनाउँदै सडकको लेभल मिलाउने काम भइरहेको छ। डिभिजन प्रमुख पवन भट्टराईले विभागको मेसिन प्रयोग गरेर ठेक्का बिना नै मर्मत कार्य अघि बढाइएको जानकारी दिए। उनले पहिरोको माटो हटाउने, ग्राभेल गरेर अस्थायी नाली निर्माण गर्दै यातायात सहज बनाउन काम भइरहेको बताए। यस खण्डमा केही समयअघि भएको भौगर्भिक अध्ययनले जमिनभित्रबाट पानी बगिरहेकाले हरेक वर्ष जमिन दबिने समस्या रहेको देखाएको छ। अध्ययनले सुझाएअनुसार पानीलाई पाइपमार्फत बाहिर निकाल्ने योजना अन्तर्गत ठेक्का प्रक्रियाको काम अघि बढाइएको छ। राजमार्ग बिग्रिएका कारण इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा जाने यात्रुहरूले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने यो खण्ड सधैँ बिग्रिने समस्याले झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्रामा बाधा पुर्‍याउँदै आएको छ। विकल्पको चर्चा भए पनि वैकल्पिक मार्ग निर्माणको ढिलाइले समस्या समाधान हुन सकेको छैन। राजमार्गमा समस्या हुँदा वैकल्पिक मार्गका रूपमा सिमल गोलाईदेखि तिल्केनीसम्मको सडकमा पाँच करोड रुपैयाँको बजेटबाट काम भइरहेको छ। तर यो मार्ग बर्खामा भरपर्दो नहुने देखिएको छ। यसै गरी, मेची कोरिडोर निर्माणका लागि विभिन्न प्याकेजमा काम भइरहेको छ। इलामको भन्ज्याङदेखि माइ नगरपालिका-लोदीया सम्मको खण्डमा तीन प्याकेजमा काम बाँडिएको छ। पहिलो प्याकेज अन्तर्गत भन्ज्याङदेखि बेलासेसम्मको ९।४ किलोमिटर खण्डमा चौडा बनाउने र नाली निर्माणको काम भइरहे पनि बर्खामा यो सडक भरपर्दो बन्ने सम्भावना न्यून रहेको छ। दोस्रो प्याकेज अन्तर्गत बेलासेदेखि सोमबारसम्मको ढलान र टेवा पर्खाल लगाउने काम २ करोड ६ लाखमा ठेक्का लिएर सम्पन्न हुने चरणमा छ। तेस्रो प्याकेजमा धुलिखेल आले जेभीले ६ करोड ३६ लाखमा ठेक्का लिएको र ७० प्रतिशत काम सम्पन्न भइसकेको डिभिजन कार्यालयले जनाएको छ। सडक खण्डमा पर्ने पुवाखोलामा तत्कालका लागि बेलीब्रिज र ठाडे खोलामा डबल सेल बक्स कल्भर्ट निर्माण बर्खाअघि सम्पन्न गर्ने योजना रहेको छ। यी कामहरू सम्पन्न भएपछिमात्र बर्खामा यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार