विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा

बुधबार, १४ फागुन २०८१
काठमाडौँ : काठमाडौँ महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू आज स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरूलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो । विद्यार्थीहरूले स्वयम्भूसहित उपत्यकाका दृश्य चित्रमा उतारे । चित्रमा उनीहरुले आफ्ना भावनासमेत पोखे । स्कुले विद्यार्थीहरूले आँखाले देखिरहेको दृश्य दुरुस्त चित्रमा कोरेको देखेर आगन्तुहरूसमेत चाख दिएर हेरे । बोधिसत्व स्कुल स्वयम्भूका विद्यार्थी सूर्यमान तामाङले स्वयम्भूको चित्र कोरे । कला सिर्जनामा रुचि राख्ने तामाङले स्वयम्भूमा आएर कला सिर्जना गर्न पाउँदा खुसी महसुस भएको बताए । कामना इन्टरनेशनल स्कुलकी आरोही प्रसाईं पनि चित्र बनाउने प्रतियोगितामा भाग लिन पाउँदा खुसी भए । उनले स्वयम्भूसहित धरहरालाई एउटै क्यान्भासमा उतारे । आफ्नो चित्रकलामा धरहरा जोडेर उपत्यकाको मौलिकता देखाउन खोजेको उनले बताए । उपत्यकाका सम्पदा जोगाउन कलाको भूमिका महत्त्वपूर्ण हुने उनको बुझाइ छ । स्वयम्भू महोत्सवमा आयोजित उक्त चित्रकला प्रतियोगितालाई स्वर्णिम स्कुलका भगवान श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नं १५ ले सहयोग गरेको हो । चित्रकला प्रतियोगितामा कक्षा ३ देखि ५ र कक्षा ६ देखि ८ गरी दुई समूहमा राखेर कला सिर्जना गराइएको थियो । प्रतियोगिताको संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले स्वयम्भू क्षेत्रभित्रका सभ्यता, संस्कृति र चाडपर्वलाई समावेश गर्ने गरी विषय दिएको र त्यही विषयमा विद्यार्थीले चित्र कोरेको बताए । [caption id="attachment_88450" align="alignnone" width="1800"] काठमाडौँको स्वयम्भूमा जारी स्वयम्भू महोत्सवका अवसरमा आज आयोजना गरिएको चित्रकला प्रतियोगितामा कला सिर्जना गर्दै विद्यार्थी । यहाँ ३३ विद्यालयका ६० जना विद्यार्थीले भाग लिएका छन् ।
तस्बिरः नारायण ढुङ्गाना/रासस[/caption] स्वयम्भू महोत्सव मूल आयोजक समितिका संयोजक तथा महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले कला संस्कृतिको जगेर्नाका लागि विद्यालयस्तरीय प्रतियोगितात्मक कला सिर्जना कार्यक्रम गरिएको बताए । आजको प्रतियोगितामा कक्षा ६ देखि ८ का विद्यार्थीको समूहतर्फ मोर्डन नेपाल स्कुलकी ग्रिन्ता पण्डित प्रथम, यूरो स्कुलकी अश्रेया शाक्य द्वितीय र डल्लु आवासीय स्कुलका स्वनिग श्रेष्ठ तृतीय भए। मैत्री स्कुल र शाङ्करी स्कुलका सियविन महर्जन र सौभित महर्जनले सान्त्वना स्थान प्राप्त गरे । त्यसैगरी कक्षा ३ देखि ५ का विद्यार्थीतर्फ डल्लु आवासीय विद्यालयकी सरिना महर्जन प्रथम, ईश्वर आधारभूत विद्यालयकी अनिशा परियार द्वितीय र दिव्यज्ञान माविका जष्टिन कार्की तृतीय भए । त्यसैगरी फ्यूचर स्टार स्कुल र विजेश्वर ज्ञान मन्दिर सैनिक विद्यालयका जोवा तामाङ र युनिका भुजेलले सान्त्वना स्थान प्राप्त गरे । यसअघि महोत्सवकै अवसरमा यहाँ २० भन्दा बढी कलाकार सहभागी भएर कला कार्यशाला आयोजना गरिएको थियो । ती कार्यशालामा बनाइएका सम्पदाका कलाहरू अहिले पनि महोत्सवमा प्रदर्शन जारी छ । महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

सम्बन्धित समाचार