विराटनगर । नेकपा एमाले मोरङको आगामी १० औँ जिल्ला अधिवेशनका बारेमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
अधिवेशनको प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । एमाले मोरङको शनिवारबाट सुरु हुने जिल्ला अधिवेशन फागुन १९ गतेसम्म चल्ने छ ।
अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले अधिवेशनको तयारी लगभग पूरा भएको जानकारी दिए । उनका अनुसार जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।
जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जन वर्गीय सङ्गठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनीत ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको कार्कीले बताए ।
एमाले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुङ्गो बिहीबार लागेको अध्यक्ष कार्कीले बताए । उनका अनुसार जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा छनोट गर्ने अधिकतम प्रयास रहनेछ ।
एमाले मोरङको अध्यक्षमा कार्कीसहित राजकुमार ओझा र अजम्बर राई आकाङ्क्षी देखिएका छन् । नेतृत्व चयन सर्वसम्मत नभए निर्वाचन हुने जनाइएको छ ।
प्रतिक्रिया