भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सङ्कटमा पर्दा नेपाली कांग्रेस र एमालेबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको दोस्रो जिल्ला सम्मेलनको आज भक्तपुरमा उद्घाटन गर्दै उनले पछिल्लो समय दुई पार्टीबीच सत्ता सहकार्य त्यसैको निरन्तरता भएको बताए ।
“कांग्रेस एमाले दुईवटा राजनीतिक पार्टी मात्रै होइनन्, सधैँ सङ्कटको बेला मिलेर काम गर्ने राजनीतिक खम्बा पनि हुन् । अहिलेको गठबन्धन पनि त्यसैको एउटा नमूना हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
इतिहासका हरेक कालखण्डमा कांग्रेस र कम्युनिष्टहरूबीच राजनीतिक रूपमा सहकार्य र प्रतिस्पर्धा दुवै हुँदै आएको सन्दर्भ उल्लेख गर्दै अहिले पनि समस्या समाधानका लागि सहकार्य र निर्वाचनमा प्रतिस्पर्धा गर्ने साझा दृष्टिकोणसहित अगाडि बढेको उल्लेख गरे ।
“राणाशासनविरोधी आन्दोलनदेखि पछिल्लो २०६२/६३ को जनआन्दोलन र २०७२ को संविधान जारी गर्दासम्म कांग्रेस र एमाले एक भएर नै सङ्कटलाई पार लगाइएको हो”, पोखरेलले भने, “हालको सत्ता गठबन्धन पनि देशलाई सङ्कटबाट जोगाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न, देशलाई सही मार्गमा ल्याउनका लागि भएको हो । सोहीअनुसारका काम गरिरहेका छौँ ।”
विसं २०८४ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने र त्यसका लागि दुवै पार्टी तयारीका साथ अगाडि बढिसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया