एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने

सोमबार, १९ फागुन २०८१
विराटनगर : नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि मङ्गलवार(भोलि) मतदान हुने भएको छ । नेताहरूले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको हो ।
यो समाचार तयार पार्दासम्म उम्मेदवारको मनोनयन दर्ता चलिरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार विभिन्न प्राविधिक समस्याले गर्दा आज (सोमबार) निर्वाचन सम्भव नभएकाले भोलि बिहान ९ बजेदेखि मतदान सुरु हुने छ ।
यही फागुन १७ गते शनिवारदेखि एमाले मोरङको १० औँ अधिवेशन चलिरहेको छ । अधिवेशनको उद्घाटन पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए । सोमबारसम्ममा अधिवेशन सम्पन्न गर्ने तयारी थियो । तर, मनोनीत प्रतिनिधिको विषयमा विवाद भएपछि तोकिएको समयमा अधिवेशन सकिएन ।
नयाँ नेतृत्व चयन निर्वाचनमार्फत नै गर्नुपर्ने अवस्था आएपछि अधिवेशनसमेत लम्बिएको हो । अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।
१ सय ६५ सदस्यीय हुने कार्यसमितिमा दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि तोकिएका ९ सय ११ जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिले मतदान गर्ने छन् ।
मोरङको एमाले अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको संस्थापन र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको इतर प्यानल भनेर चर्चा गर्ने गरिएको छ । यद्यपि, पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आइसकेकी छैनन् । विनोद ढकाल उनीनिकट नेता भनेर चिनिन्छन् ।
ढकाल लामो समय अध्यक्ष ओली निकट भएर चिनिएका थिए । तर, गत वर्ष पार्टीको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडासँग पराजित भएपछि उनी खुलेर फरक गुटको नेतृत्व गरिरहेका छन् ।
गत माघ १४ गतेदेखि १ सातासम्म चलेको पूर्व राष्ट्रपति भण्डारीको विराटनगर यात्राका क्रममा भेटघाटको व्यवस्थापन ढकालले नै मिलाएका थिए । जिल्लामा आफूलाई संस्थापन बताउने समूहको नेतृत्व भने, एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् ।
यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे लगायत छन् । संस्थापन पक्षले आफ्नो समूहसँग ६० प्रतिशत प्रतिनिधि रहेको दाबी गरेको छ । इतर पक्ष पनि आफूसँग ६० प्रतिशत प्रतिनिधि रहेको दाबी गर्छ । आइतबारबाट सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया आज दिउँसोबाट मात्रै सुरु भएको हो । मनोनीत प्रतिनिधिको विषयलाई लिएर इतर पक्षले बन्द सत्रमा आइतबार प्रदर्शन र नाराबाजीले निर्वाचन कार्यक्रम नै प्रभावित बन्न पुग्यो ।
अधिवेशन लम्बिनुको एउटा कारण इतर पक्षको विरोध प्रदर्शन पनि हो । इतर पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिएका सागर थापाले निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुने बताए ।
संस्थापन पक्षबाट सचिवमा उम्मेदवारी दिएका रविन थापाले पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षीण भएर गएको बताए । निर्वाचनमार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा निर्वाचनमा संस्थापन र इतर पक्षबिच प्रतिस्पर्धा हुने स्वीकार गर्छन् । ‘पार्टीको निर्णय कार्यान्वयन गर्न इमानदारितापूर्वक लाग्नेहरूले आफूलाई संस्थापन भन्छन्,’ उनले भने, ‘पार्टीलाई देखाइदिन्छु, चखाइदिन्छु, मान्दिनँ भन्ने इतर होलान् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार