विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ट्रक प्रहरीको नियन्त्रणमा

मंगलबार, २० फागुन २०८१
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान लोड गरिएको भारतीय नम्बर प्लेटको ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा टोली परिचालन गरिएको थियो । इन्स्पेक्टर थापा नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई सोमबार साँझ ५ः३० बजेतिर नियन्त्रणमा लिएको हो । डीएसपी जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरणजस्ता वस्तु रहेको प्रज्ञापन पत्रमा उल्लेख छ । ४५ लाख रूपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई नियन्त्रणमा लिइएको उनले बताए । सामान लोड गरिएको ट्रक र चालक अस्लामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी जोशीले दिए । उनका अनुसार सामान कसको हो भनेर यकिन भइसकेको छैन । राजस्व अनुसन्धानले अनुसन्धान गरेपछि नै थप कुरा पत्ता लाग्ने जोशीको भनाइ छ । विराटनगर भन्सार कार्यालयका प्रमुख परिवर्तन भएका छन् । भन्सार प्रमुखका रूपमा उमेश श्रेष्ठ आएका छन् । यसअघिका प्रमुख ज्ञानेन्द्र ढकालले सोमबारदेखि औपचारिक हिसाबले बिदा लिएका छन् । ढकालले भन्सार प्रमुख भएर विराटनगर रहँदा तस्करी नियन्त्रणका लागि उल्लेख्य भूमिका खेलेका थिए । उनको सरुवा भएर नयाँ प्रमुख आएपछि भन्सारबाटै तस्करी गराउन व्यापक चलेखल भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार भन्सारकै कर्मचारी, एजेन्ट र व्यापारीबीच चलखेल भइरहेको हो । विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुमीत गुप्ता भन्सार जाँचपास भएर निस्किएको ट्रक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘यो नियमित र सामान्य प्रक्रिया हो । शंका लागेमा कुनै गाडीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्छ,’ उनले भने । प्रहरीले नियन्त्रणमा लिएको ट्रकको सामान कसको हो र कसले जाँचपास गरेका थिए भनेर भन्सार अधिकृत गुप्ताले खुलाउन सकेनन् । ‘जाँचपास गर्ने कर्मचारी र भन्सार एजेन्टका बारेमा मलाई थाहा भएन । सामान कसको हो भनेर यकिन छैन । त्यो कुरा राजस्वतिरबाटै नै थाहा हुन्छ,’ उनले भने । गुप्ताले काम गर्ने क्रममा केही कमजोरी भएपनि तस्करीलाई प्रसय दिने खालका कुनै गतिविधि भन्सारबाट नभएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार