इटहरीमा धारिलो हतियार प्रहारबाट एक घाइते

आइतबार, २१ बैशाख २०८२
साङ्केतिक तस्बिर

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित साथी पेट्रोल पम्प अगाडि धारिलो हतियार प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।

शनिवार बिहान करिब ८ः३० बजे रामधुनी नगरपालिका वडा नं ९ स्थायी घर भई हाल इटहरी उपमहानगरपालिका–९ मा बस्दै आएका ४२ वर्षीय ज्ञानचन्द्र चौधरीलाई अन्दाजी २६ २७ वर्षीय भरत साहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। हतियार प्रहार गर्ने भरत साह इटहरीकै प्रह्लाद साहका छोरा हुन्।

चौधरीको घाटीमा गहिरो चोट लागेको थियो। घाइते अवस्थामा रहेका उनलाई तत्कालै इटहरीस्थित सामुदायिक अस्पतालमा लगिएको थियो बोल्न सक्ने अवस्थामा रहेका चौधरीको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाको जानकारी बिहान ९ः३० बजे घाइतेका आफन्तमार्फत इलाका प्रहरी कार्यालय इटहरीलाई दिइएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेर खोज तथा अनुसन्धानको काम अघि बढाएको छ।

 अस्पतालमा उपचाररत रहेका घाइते ज्ञानचन्द्र चौधरीलाई साँझ करिब ५ बजे डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार आरोपी भरत साह हालसम्म फरार छन्। घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ। आक्रमणको कारण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार