रामधुनीबाट १८० केजी गाँजा सहित एम्बुलेन्स चालक पक्राउ

आइतबार, २१ बैशाख २०८२

इटहरी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजा सहित एक भारतीय नम्बरको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार राति करिब १० बजे लागू औषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो क्षेत्रको सम्पूर्ण सडक ब्लक गर्दै चेकजाँच गरेको थियो।

जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सलाई रोकी खानतलासी गर्दा कालो प्लास्टिक भित्र सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ बोरा, जम्मा १८० केजी गाँजा  फेला परेको हो।

उक्त एम्बुलेन्स चालक सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ४ का २५ वर्षीय श्रीराज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी राजेन्द्र साहका छोरा हुन्।

पक्राउ परेका चालकसहित बरामद लागू औषध र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार