मोरङ : नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिक जिल्ला सभापति सरोज पोखरेल नै भएको नेपाली कांग्रेस मोरङले प्रस्ट पारेको छ । कांग्रेसले संस्थापन पक्षका नेविसंघका केन्द्रीय सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति घोषणा गरेको विषय आधिकारिक नभएको कांग्रेसले जनाएको हो ।
मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीले मङ्गलवार विज्ञप्तिमार्फत भनेका छन् ‘मोरङ जिल्लामा नेविसंघको आधिकारिक जिल्ला समिति हुँदा हुँदै यसरी समानान्तर समिति अवैधानिक तवरले बनाउने दुसप्रयासले पक्कै पनि नेविसंघको ऐतिहासिक छविलाई धुमिल पार्दै तमाम नेविसंघमा आबद्ध विधार्थीहरुको भावना माथि कुठाराघात भएको महसुस नेपाली कांग्रेस मोरङले ठहर गरेको छ ।’
खास गरी विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका शेखर कोइराला पक्षधर र संस्थापनका विद्यार्थीबिच कुटाकुट भएपछि विवाद चुलिएको थियो । जसपछि उत्पन्न विवादले उग्र रूप लिएपछि संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित समानान्तर जिल्ला कार्यसमिति बनाएको सूचना निकालेका थिए ।
सभापति शेरबहादुर देउवा पक्षका १२ जना केन्द्रीय सदस्यहरूले संयुक्त रूपमा नेविसंघ मोरङको अध्यक्षमा मोहम्मद तनवीरलाई चयन गरेको चिठी केन्द्रलाई पठाएका थिए ।
त्यसअघि कोइराला समूहका विद्यार्थी नेताहरूले महेन्द्र मोरङमा खालि रहेको इकाई सभापतिमा संजोग गौतमलाई तोकिदिएपछि नेविसंघ जिल्ला अध्यक्ष समेत रहेका सरोज पोखरेलका विरुद्ध समिति गठन भएको अवस्था छ ।
प्रतिक्रिया