विराटनगर : नेकपा (एमाले) मोरङको १० औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) बिहानबाट मतदान हुँदैछ ।
प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बिहान ७ बजेपछि विराटनगरको होटल मनास्लु इनमा मतदान सुरु हुने जानकारी दिए ।
उनका अनुसार मतदानका लागि मतपत्र छपाइलगायतका सबै तयारी पूरा भइसकेको छ । मतदान अपरान्ह ४ बजेसम्म चल्ने र चुनाव सकिएपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना गरेर अन्तिम परिणाम सार्वजनिक गरिने श्रेष्ठले बताए ।
पार्टीको जिल्ला नेतृत्व चयनका लागि हुनुपर्ने निर्वाचन पटकपटक सर्दै आएको छ । एमालेको जिल्ला अधिवेशन फागुन १७ गतेदेखि सुरु भएको थियो । सोमबारसम्ममा नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न गर्ने तयारी थियो ।
त्यसपछि मतदानको समय मंगलबारलाई सारियो । उम्मेदवारी दिनेको संख्या धेरै भएको र विविध प्राविधिक समस्या आएको भन्दै निर्वाचन समितिले समयमा मतदान सम्पन्न गर्न सकेन । अर्कोतर्फ सहमतिको प्रयासका नाममा पनि मतदानको समय सार्ने काम भइरहेको थियो ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ६५ सदस्यीय नयाँ जिल्ला समिति चयन हुने छ । जसमध्ये ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् । पदाधिकारीसहित ९४ पदका लागि मतदान हुने छ ।
अधिवेशनका लागि सुरुमा ३ सय २५ जनाले मनोनयन दर्ता गरेका थिए । तीमध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
चुनावी मैदानमा १ सय ९१ जना छन् । श्रेष्ठका अनुसार उम्मेदवारी फिर्तादेखि अन्य प्राविधिक विषय मिलाउनलाई समय लागेका कारण निर्वाचन समयमा सम्पन्न हुन सकेन ।
१ पटकमा २० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी श्रेष्ठले दिए । उम्मेदवार धेरै भएका कारण १ जना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।
दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् । उनीहरुले नै गरेको मतदानबाट एमाले मोरङको नयाँ नेतृत्व चयन हुने हो ।
प्रतिक्रिया