जनकपुरधाम : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाय मृत्यु प्रकरणमा प्रहरीले वडा सदस्यसहित थप चार जनालाई पक्राउ गरेको छ।
सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, बिन्देश्वर साह, र एक अज्ञात व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका अज्ञात व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गर्ने मध्येका राम विनय मण्डलका पिता रहेको खुलेको छ।
सिरहा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले पक्राउको पुष्टि गर्दै भने, "अहिले कार्यालयमा ल्याइसकिएको छैन, विस्तृत विवरण पछि सार्वजनिक गर्छौं।"
माघ २७ गते राति शौच गर्न बाहिर गएकी रिंकुलाई तीन जनाले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए। घटनालाई ढाकछोप गर्न वडा सदस्य नथुनी साहसहित केही व्यक्तिले गाउँमै पञ्चायत बोलाएर पीडित परिवारलाई दबाब दिएका थिए।
पञ्चायत बसेको केही घण्टामै माघ ३० गते रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन्।
सुरुमा इलाका प्रहरी कार्यालयले तीन जना बलात्कार आरोपितमाथि आत्महत्या दुरुत्साहन मुद्दा अघि बढाएको थियो। तर, सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी दर्ता गरिएको छ।
पीडित परिवारले तीनजना बलात्कार आरोपित र पाँच जना पञ्चायतमा संलग्नहरू गरी आठ जनाविरुद्ध जबरजस्ती करणी, अपहरण, हत्या, र लेनदेन शीर्षकमा जाहेरी दिएका छन्।
मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेको छ, भने अन्य तीनजना अझै फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया