महोत्तरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार रहेको बताएका छन् । शुक्रबार मधेस प्रदेशस्थित महोत्तरीको मनराशिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै देउवाले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गरे ।
“स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ”, सभापति देउवाले भने ।
स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने देउवाको सुझाव छ । उनले सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने बताए ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपूत जन्माउने ठाउँ रहेको चर्चा गरे ।
नेपाल सरकार र मनराशिशवा नगरपालिकाको सात करोड २८ लाख ५० हजार लागतमा निर्मित नयाँ तीनतले प्रशासकीय भवन भूकम्प प्रतिरोधी र वातानुकूलित रहेको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिएका छन् । २६ कोठे भवनमा तीन सय जना अट्ने क्षमताको सभाहल र दुई वटा बैठककक्ष छन् ।
भवन अपाङ्गता भएकाहरूका लागि सुविधायुक्त, महिलाका लागि नानीहरूलाई स्तनपानकक्ष र अग्नि नियन्त्रक र जल आपूर्तिको सहज व्यवस्था रहेको पाण्डेले बताए । भवन निर्माणमा ५० प्रतिशत रकम नेपाल सरकारबाट प्राप्त भएको र बाँकी नगरले व्यवस्थापन गरेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले बताए ।
प्रतिक्रिया