अछाम : पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
शनिवार अछाम, बाजुरा र डोटीका भूकम्प पीडित लाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति अछामको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले पश्चिम नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको भूकम्पले जनधन सँगै मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए ।
लामो समयसम्म भूकम्प पीडितले राहत नपाएको समयमा पूर्ण रूपमा क्षति भएका निजी आवासको पुनर्निर्माण, पुनस्र्थापना र आवास मर्मतको कार्यलाई द्रुत गतिमा अगाडि बढाउने काम भइरहेको लेखकको भनाई छ ।
लाभग्राही हरूलाई ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी हरूलाई आग्रह गरे । बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री लेखकले स्थानीय तहहरूले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडित हरुले समयमै रकम पाउने बताए ।
भूकम्पबाट क्षति भएका अछामको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राही हरूलाई आवास पुनः निर्माण अन्तर्गत पहिलो किस्ता प्रति व्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
प्रतिक्रिया