रोजगारीको आश्वासनमा खोलिएको ल्याण्डफिल्ड साइडले दिन्छ पीडा, छैनन् महिला दिवसबारे जानकार

शनिबार, २४ फागुन २०८१
इटहरी : ‘अहिले त फोहोर नै आउँदैन । सात दिनमा एक दिन ल्याउँछ । त्यसमाथि आम्दानी पनि घट्दै गएको छ,’ अन्तर्राष्ट्रिय महिला दिवसको बिहानीपख सुन्दरहरैंचा ४ बडहरास्थित ल्याण्डफिल्ड साइडमा भेटिएकी एक महिलाको गुनासो हो यो । ऋषिदेव थरकी ती महिला हरेक दिनजसो बिहानै यहाँको फोहोर सङ्कलन केन्द्र रहेको बडहरामा पुग्छिन् । आफ्नो दैनिकी चलाउनकै लागि साइडमा जाने गरेको बताएकी उनले न अन्तर्राष्ट्रिय महिला दिवसको चाल पाउँछिन्, न कुनै महिला अधिकारका कार्यक्रमबारे नै । शनिवार ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सबै महिला तथा बालिकाको लागि ‘अधिकार, समानता र सशक्तीकरण’ भन्ने सन्देशका साथ संसारभर मनाइयो । ऋषिदेव भन्छिन्,‘मलाई त यस्ता कुराको थाह नै छैन ।’ ऋषिदेव जस्तै बडहराका विपन्न समुदायका महिलाहरू फोहोर छान्नमा व्यस्त हुन्छन् । त्यहाँका स्थानीयको आम्दानीको श्रोत नै हो ल्याण्डफिल्ड साइड हो । उनी भन्छिन्,‘अहिले त यहाँ फोहोर मात्रै आइपुग्छ । मोहोर बन्ने सामग्रीहरू त बाटोमै सकिएर आउँछ ।’ उनीसहित त्यहाँका स्थानीयले अस्तव्यस्त रहेको ल्याण्डफिल्डलाई छानिरहेका छन् । टिन, फलाम, कागज कार्टुन, प्लास्टिकजन्य फोहोरलाई छुट्टाछुटै बनाइदिँदा इटहरीसहितका कवाडी व्यापारीहरूले उनीहरूले छानेका सामानहरूलाई खरिद गर्ने गरेका छन् । बडहराका स्थानीलाई सो साइडलाई फोहोर प्रशोधन केन्द्र बनाउने र त्यहाँका मानिसहरूलाई रोजगारीको प्रत्याभूति दिलाउने भन्ने आश्वासनसहित २०७२ मै खोलिएको थियो, उक्त साइड । तर, खोलिएको एक दशक बित्न लाग्दासमेत साइड अस्तव्यस्त नै रहेको छ । आफ्नो स्वास्थ्यको जोखिम मोलेर स्थानीयहरूले साइडका फोहोरलाई प्रशोधन गरिरहेका छन् । ‘केन्द्र बनाउने आश्वासन दिएर बस्तीको छेउमा ल्याएर फोहोर फाल्ने ठाउँ बनाइयो । अहिले यहाँका स्थानीयको स्वास्थ्यमा समस्या आइरहेको छ ।’ स्थानीय गंगा चौधरी भन्छिन्, ‘जोखिम मोलेर स्थानीयहरू आफै सङ्कलन गर्न जानु परेको छ ।’ बस्तीबाट दुई सय मिटर पर मात्र फोहोर रहेको र त्यो फोहोर समेत अस्तव्यस्त रूपमा रहँदा त्यहाँ प्रशोधन केन्द्रको आवस्यक्ता रहेको सुन्दरहरैंचा ४ का पूर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउँछन् । ‘स्थानीयको अवरोधकाबीच त्यहाँ फोहोर फाल्न थालिएको थियो । जुन तरिकाले त्यहाँ प्रशोधन केन्द्र बनाउने भनियो यतिका समय बन्न सकिरहेको छैन,’ श्रेष्ठले भने । आफू वडाध्यक्ष रहँदा धेरै निकायसँग फोहोर प्रशोधन केन्द्रका लागि अनुरोध गरेको उनी बताउँछन् । उनले भने, ‘प्रशोधन केन्द्र यहाँका मानिसको रोजगारीको लागि मात्रै नभएर फोहोरको व्यवस्थापन र वातावरणीय प्रदूषण रोक्नका लागि पनि आवश्यक छ ।’

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार