काठमाडौं : नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारका हक–हित र संगठनको आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले पछिल्लो तीन वर्षे कार्यकालको समीक्षा गर्दै श्रमजीवी पत्रकारको हकहित, सञ्चारसम्बन्धी कानुन निर्माणमा पैरवी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सीप अभिवृद्धिका कार्यक्रम अपेक्षाकृत रूपमा सम्पन्न गरिएको निष्कर्ष निकालेको छ। बाँकी कार्यकालमा संगठनलाई अझ सक्रिय, गतिशील र प्रभावकारी बनाउन संगठनका सबै तहलाई परिचालन गरिने भएको छ।
कार्यसमितिले युनियनको वर्तमान कार्यकाललाई विशेष परिस्थितिका कारण विधानअनुसार थप गर्दै १०औं केन्द्रीय महाधिवेशन २०८३ सालको जेठ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसअगावै २०८२ मंसिरमा विधान संशोधनका लागि विधान सभा आयोजना गरिनेछ। युनियनको विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.को संयोजकत्वमा समिति पनि गठन गरिएको छ।
संगठन विस्तार र सशक्तिकरणको लक्ष्यसहित साउन १५ गतेदेखि कात्तिक २१ गतेसम्म १०० दिने सदस्यता नवीकरण तथा वितरण अभियान सञ्चालन गरिने भएको छ। साथै, पत्रकारसँग युनियन अभियान पनि सञ्चालन गरिनेछ।
प्रेस स्वतन्त्रताको सन्दर्भमा बैठकले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कायम राख्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ। अदालतबाट समाचार हटाउने किसिमका अन्तरिम आदेशले संवैधानिक मर्ममा आँच पुर्याउने भन्दै आगामी दिनमा यस्ता आदेश दोहोरिन नदिन सरोकारवालाको ध्यानाकर्षण गरिएको छ।
हाल पत्रकारिता क्षेत्रमा आचारसंहिताविपरीत गतिविधि बढ्दै गएको भन्दै युनियनले सम्पूर्ण सञ्चारकर्मीलाई व्यावसायिक धर्म र आचारसंहिता पालना गर्न आग्रह गरेको छ। त्यस्तै, सञ्चारकर्मीका श्रमसम्बन्धी समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक सुनिश्चितता र सामाजिक सुरक्षामा जोड दिइएको छ।
लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिता, समानुपातिकता र अनलाइन मिडियालाई समावेश गराउन युनियनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
युनियनको निर्देशन विपरीत कार्य गरेकालाई कारबाही गरिए पनि उनीहरूले आत्मालोचनासहित निवेदन दिएमा अनुशासन समितिले पुनर्विचार गर्ने व्यवस्था गरिएको छ।
बैठकमा वैशाखमा सम्पन्न 'लोमन्थाङ इन्टरनेशनल मिडिया समिट' को समीक्षा गर्दै त्यसले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ मानक स्थापना गरेको निष्कर्ष निकालिएको छ। समिटको विस्तृत प्रतिवेदन छिट्टै विशेष कार्यक्रममार्फत सार्वजनिक गरिनेछ।
साथै, युट्युब र सामाजिक सञ्जालमा भइरहेको पत्रकारिता अभ्यासलाई मर्यादित र जवाफदेही बनाउन सरकारलाई नीतिगत हस्तक्षेप गर्न आग्रह गरिएको छ। कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएकाले आवश्यक प्रशिक्षण, साक्षरता र नीतिगत व्यवस्था गर्न युनियनले अभियान चलाउने जनाएको छ।
बैठकले पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। कोष सञ्चालन र रकम संकलनका लागि कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा समिति गठन गरिएको छ।
प्रतिक्रिया