मधेस सरकारको विशेष टोलीले एसइई परीक्षाको अनुगमन गर्ने

सोमबार, २६ फागुन २०८१
जनकपुर : चैत्र ७ गत्तेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई व्यवस्थित गर्न मधेस प्रदेश सरकारले पहल सुरु गरेको छ । परीक्षालाई व्यवस्थित एवं मर्यादित बनाउन मधेस प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आठ वटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझावका साथै निर्देशनसमेत दिएको छ । सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा (एसइई) २०८१ सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले यसपालिको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवाला निकाय, सुरक्षा निकाय, विद्यार्थी र अभिभावकहरूलाई आग्रह गरेका छन् । उनले सुरक्षाको दृष्टिकोणले परीक्षा केन्द्रको मूल गेटमै सिसिटिभी क्यामेरा जडान गर्न प्रमुख जिल्ला अधिकारी र केन्द्राध्यक्षहरुलाई सुझाव दिएका छन् । कुनै विद्यार्थीले चोरी गरेको फेला परेको खण्डमा कक्षाकोठामा उपस्थित गार्डलाई कारबाही गर्न र कोही विद्यार्थीले मोबाइल परीक्षा केन्द्रमा लगेमा उक्त मोबाइल जफत गरी फिर्ता नदिइने लगायतका नियम लागु गर्न मुख्यमन्त्री सिंहले सुझाव दिए । उनले प्रदेशमा सबैभन्दा राम्रो व्यवस्थापन र मर्यादित परीक्षा सञ्चालन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गर्ने घोषण पनि गरे । त्यसकालागि प्रदेश सरकारले विशेष टोली बनाई परीक्षाकेन्द्रहरुको अनुगमन गर्ने जानकारी दिए । कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले विद्यार्थीहरूले परीक्षामा बढी अङ्क ल्याउनु भन्दा बुझेर पढ्न आवश्यक रहेकोमा जोड दिए । उनले विद्यार्थीहरूले चोरी गरेर बढी अङ्क प्राप्त गरेर आगामी दिनमा आफूलाई नै अझ बढी समस्यामा पार्ने बताए । कार्यक्रममा शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशले दिएको जानकारी अनुसार यस वर्ष मधेस प्रदेशमा ८८,८५८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार