विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशीको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै छन् ।
प्रदेशसभा दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसको सबै तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चित प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।
त्यसअघि मोरङ सुन्दरहरैँचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ओली सहभागी हुने छन् । त्यसपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्न विराट आउने कार्यक्रम छ ।
कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजेबाट सुरु हुने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)सहितका प्रतिपक्षी दलले भने प्रधानमन्त्रीको सम्बोधनका विषयमा औपचारिक जानकारी नभएका कारण बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन् ।
प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको बताएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री ओली मंगलबार दिनभर मोरङमा रहने छन् । २ वटा कार्यक्रममा सहभागी हुन उनी हेलिकप्टर चढेर बिहान १० बजे मोरङको सुन्दरहरैँचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउने सुरक्षा स्रोतले जनायो ।
उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको बिहान ११ः३० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसलगतै पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उद्घाटन गर्नेछन् । दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेषसभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
दिउँसो साढे २ बजे कोशी प्रदेशसभालाई सम्बोधन गरेर उनी साढे ४ बजे हेलिकप्टरमार्फत काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री आउने भएपछि मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सुन्दरहरैँचा र विराटनगरमा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो ।
दुवै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया