मोरङ : आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि सुकुना बहुमुखी क्याम्पस विराटचौकमा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
मङ्गलबार निर्धारित समयभित्रै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)सहित चार सङ्गठनको तर्फबाट अनेरास्ववियुका एलिस ओझा, नेपाल विद्यार्थी संघको तर्फबाट विजय ओझा र अखिल क्रान्तिकारी मोहन बैद्य किरणको तर्फबाट बेबिन बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन समितिका संयोजक शुकदल लिम्बूले रितपूर्वक पेस भएका निवेदन अनुसारका पहिलो नामावली मङ्गलवार साँझ प्रकाशन गरिएको हो ।
यसैगरी सचिव पदका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अर्जुन दाहाल र गठबन्धन सङ्गठनको तर्फबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का रोहन खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रत्यक्ष निर्वाचित हुने कोषाध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघको तर्फबाट सविना थापा र गठबन्धन सङ्गठनको तर्फबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अनिष पौडेलको उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी सदस्यहरूमा नेपाल विद्यार्थी संघको तर्फबाट शिला ढकाल, लक्ष्मी रायमाझी, सुदीप जङ्ग खड्का, पर्वत रावत, देनिश श्रेष्ठ (डेनिस),आशिष सुन्दास रोशन पौडेल र विपसा श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
गठबन्धन सङ्गठनको तर्फबाट निकेश दाहाल, अभिषेक पोख्रेल, पवन भट्टराई, सुदीप राई, अनुसा खड्का, घनश्याम खवास, समय बास्तोला र नरेसजंग थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका एलिस ओझा नेकपा एमाले मोरङ जिल्लाको अध्यक्ष पदमा पराजित भएका राजकुमार ओझाका छोरा समेत हुन् ।
मोरङको अधिवेशनमा राजकुमार ओझाको प्यानल नै संस्थापन इतर उम्मेदवार अजम्बर राईको प्यानलसँग पराजित भएको थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया