सुन्दरहरैंचा : आगामी ५ चैत्रमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि कतिपय क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेका छन् भने कतिपयमा विद्यार्थी संगठनको तालाबन्दी र विरोधका कारण निर्वाचन नै अनिश्चित भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीका संगठनले आफ्ना प्रतिबद्धतासहित विद्यार्थीसँग मत माग्ने साथै घरदैलो अभियनमा लागिरहेका छन् ।
हरेक संगठनका नेताहरू कसरी हुन्छ विद्यार्थीको मत आफ्नो पक्षमा पार्ने प्रयत्न गरिरहेका छन् । कतिपयले भने विद्यार्थीको मत प्राप्तिका लागि सम्पूर्ण शक्ति लगाइरहेका छन् ।
यसैबीच मोरङको सुन्दरहरैंचा नगरपालिका–१२, विराटचौकस्थित सुकुना बहुमुखी क्याम्पसमासमेत निर्वाचनका लागि विद्यार्थी संगठनहरू चुनावी माहोलमा होमिएका छन् ।
सुकुनामा निर्वाचनका लागि सात संगठन दर्ता भएकोमा पाँच संगठनको गठबन्धनसहित अनेरास्ववियुका एलिस ओझा चुनावी मैदानमा छन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट विजय ओझा र अखिल क्रान्तिकारी मोहन बैद्य किरणको तर्फबाट बेबिन बुढाथोकी अध्यक्ष पदका उम्मेदवार रहेका छन् ।
उम्मेदवारी दर्तासँगै संगठनका उम्मेदवारहरू घरदैलोमा छन् । घरदैलो अभियानमै भेटिएका नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार विजयले आफूहरूको जीत निश्चित रहेको दाबी गरे ।
चुनावी अभियान चलाइरहेका उनले प्रदेश खबरसँगको कुराकानीमा भने, ‘विद्यार्थीलाई आफ्ना कुराहरू राख्ने, संगठनका गतिविधि अगाडि बढाउने, विद्यार्थीका समस्या सुन्ने, अहिले समस्यालाई टिपोट गर्ने, समस्या समाधानका लागि क्याम्पस प्रशासनसंग आवाज उठाउने, पार्टीका नेताहरूसँग अन्तरक्रिया गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ ।’
उनले सुकुना बहुमुखीमा यसपटक नेविसंघले निवार्चन जित्ने दाबी गरे । सुकुना बहुमुखी क्याम्पसमा अहिलेसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने अवसर नपाएको उल्लेख गर्दै उनले नेपाल विद्यार्थी संघको आवश्यकता अपरिहार्य रहेको बताए ।
‘सुकुनामा नेपाल विद्यार्थी संघको लोकप्रियताका कारण अरू सबै संगठन मिल्नुपर्ने आवश्यकता आएको छ । विद्यार्थी साथीहरूको प्रतिक्रिया अनाुसार नेपाल विद्यार्थी संघले निर्वाचन जित्ने पक्का छ,’ उनले भने ।
विद्यार्थीका समस्याहरूबारेमा जिज्ञासा राख्दा उनले यसबारे विद्यार्थीहरूलाई कक्षामै पुगेर प्रश्नावलीमार्फत नै समस्या टिपोट गरेको सुनाए ।
‘हामीले हेर्दा पनि विद्यार्थीका समस्याहरू समयमा पाठ्यपुस्तक नपाउने, प्रशासनमा सजिलै सहजता नपाउने, शुल्क महंगो, खानेपानीको अभाव, अतिरिक्त क्रियाकलावका साथै विद्यार्थीले नियमित पढाइका सन्दर्भमा समेत गुनासो गरेको अवस्था छ,’ ओझाले भने ।
निर्वाचित भएपछि विद्यार्थीका समस्याहरूलाई क्याम्पस प्रशासनमार्फत समाधान गरिने उनले बताए ।
‘हामीले नेतृत्वमा नपुगे पनि विद्यार्थीका हक अधिकारका निम्ति जसरी लडेका छौँ,’ ओझाले भने, ‘सुकुना बहुमुखीले परिवर्तन खोजेको छ । त्यो परिवर्तन केवल नेतृत्वको मात्रै हुने छैन, परिवर्तन नेतृत्व चुन्नेहरूको पनि हुनेछ । नेता पनि त कसैको कृपाले हुन सकिन्न ।’
खासगरी सुकुना बहुमुखीमा अध्यक्ष पदमा तीन जना उम्मेदवार रहेका छन् । यहाँ नेपाल विद्यार्थी संघले अहिलेसम्म नेतृत्व गर्ने अवसर प्राप्त अहिलेसम्म गरेको छैन ।
यसपटक ऐतिहासिक जीत हाँसिल गर्ने विजयको दाबी छ ।सभापति भन्छन् – ‘नेविसंघ नेताको सन्तान भएर राजनीति गर्दैन’
यसैबीच नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पसका इकाई सभापति समेत रहेका विद्यार्थी नेता भोजराज रिजालले नेपाल विद्यार्थी संघ नेताको सन्तान भएर राजनीति नगर्ने उल्लेख गरे ।
स्ववियु सभापति पदका अर्का उम्मेदवार एलिस ओझालाई लक्षित गर्दै उनले भने, ‘हामी यहाँ कसैको बुबाको आडमा सन्तानले राजनीति गर्नुपर्छ भन्नेमा छैनौं । नेपाल विद्यार्थी संघ कसैको वैशाखीबिना निर्वाचन जित्न तयार छ ।’
एलिस नेकपा एमाले मोरङ जिल्लाको अध्यक्ष पदमा पराजित भएका राजकुमार ओझाका छोरा हुन् । मोरङको अधिवेशनमा राजकुमार ओझाको प्यानल नै संस्थापन इतर उम्मेदवार अजम्बर राईको प्यानलसँग पराजित भएको थियो ।
यो पनि –
https://pradeskhabar.com/?p=91690
https://pradeskhabar.com/?p=91081&fbclid=IwY2xjawJCa19leHRuA2FlbQIxMQABHSOOM6iEX6vHLOjiQyihQFqxKX4UQL0csQqMHBigiXLj2pi4VGnoroubXA_aem_SiaUJXyjTBa_eO2Pzw3XCA
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया