‘विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी’

आइतबार, ०३ चैत्र २०८१
काठमाडौँ। सांसद डा. स्वर्णिम वाग्लेले विद्यार्थी राजनीतिक दलहरूले आफ्नो गुटको स्वार्थका लागि क्याम्पस बन्द गराएकोमा आक्रोश व्यक्त गरेका छन्। उनले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी संगठनहरू दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताए। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै वाग्लेले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिएको र क्याम्पसहरू बन्द भएकोमा दुःख व्यक्त गरे। चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उनको भनाइ थियो। “बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ,” उनले भने। क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु नहुने सांसद वाग्लेको विचार थियो। सांसद ज्ञानबहादुर शाहीले १६ वर्षमा १४ वटा सरकार फेरिएर कयौँले मन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै अहिले संसद्मा भाषण गर्ने धेरैका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी गरे। उनले जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता रहेकोमा जोड दिए। “मदन भण्डारीको हत्या कसले गरेको हो किन पत्ता नलगाएको? भण्डारीका हत्यारा पत्ता लगाउँछु भन्ने नेता अहिले र पटकपटक प्रधानमन्त्री बन्नुभयो तर हत्यारा किन पत्ता लागेन? पैतृक सम्पत्तिमा लाभकर लिने यो कस्तो व्यवस्था हो?” सांसद शाहीले प्रश्न गरे। सांसद प्रेमबहादुर आलेले सेती लोकमार्गको डोटी खण्डमा वन मन्त्रालयका कारण सडकको काम हुन नसकेको बताए। वन मन्त्रालयको रवैयाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति कमजोर रहेको उनको दाबी थियो। गत मङ्सिर ६ गते मन्त्रिपरिषद्ले गरेको सेती लोकमार्गसम्बन्धी निर्णय कार्यान्वयन हुनुपर्ने सांसद आलेको माग थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार