लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशन चैत्र ८ र ९ गते सानेपामा हुने

आइतबार, ०३ चैत्र २०८१
काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम केन्द्रीय महाधिवेशन यही चैत्र ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा हुने चरणमा रहेको प्रचारप्रसार समिति संयोजक माधवप्रसाद चौलागाँईले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक चौलागाँईले देशभरका ७७ जिल्लाका लगभग एक हजार जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने बताए । महाधिवेशनका लागि प्रदेश अधिवेशन लगभग सम्पन्न भइसकेको उनले बताए । ‘हालसम्म ६ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० संघीय निर्वाचन क्षेत्र ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइ सकेको जानकारी गराउन गराउँदछौ,’ उनले भने । संयोजक चौलागाईंले थपे, ‘अधिवेशनको पहिलो दिन चैत्र ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत केन्द्रीय स्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भातृ तथा शुभेच्छुक संघ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरू लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बिचमा भव्य रूपमा उत्साहजनक वातावरणमा उद्घाटन समारोह र बन्द सत्र हुनेछ ।’ महाधिवेशनमा नेपाल सरकारले गरेको वर्गीकरण अनुसारका १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू जस्तै शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, स्वरबोलाइ सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहु अपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्ण अशक्तता, अतिशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार