स्वदेशकै कमाइमा सन्तुष्ट छन् ‘रिटर्नी युवा’

विहीबार, २३ चैत्र २०७९
धरान । रिटर्नी युवा अर्थात् वैदेशिक रोजगारबाट फर्किएका युवा । पछिल्लो समय विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कले रिटर्नीहरु स्वदेशमा व्यवसायी भएको संख्या बढीरहेको देखाउछ । अहिले विदेशबाट फर्किएर आफ्नै गाउँमा व्यवसाय गर्न थालेका छन् । विदेशमा सिकेको सिप र आर्जन गरेको धनलाई स्वदेशमा नै उपयोग गर्नेहरुको संख्या बढिरहेको छ । धरानको ६ नं. वडा पानवारीका अजय कार्की वैदेशिक रोजगारबाट फर्किएपछि फेरी विदेशिनु भन्दा गाउँमा नै व्यवसाय गर्नु उत्तम ठानेर अहिले बेकरी खोलेर बसेका छन् । उनले बेकरीका उत्पादन बढाउने सिप भने यही सिकेका हुन् । सिप सिकेपछि स्वरोजगार हुन सजिलो भएको अनुभव उनी सुनाउछन् । १० लाखको लगानीमा सुरु गरेको बेकरीको व्यवसायमा अहिले १६ लाख लगानी पुगेको छ । बेकरीबाट हुने आम्दानीबाट कार्की सन्तुष्ट छन् । उनको बेकरीमा वर्थडे केकदेखि चिया कफिसम्म पाइन्छ । उनले व्यवसाय सुरु गरेको ६ महिना मात्रै भएको छ । ६ महिनाको अवधीमा व्यवसायमा देखिएको सम्भावनाले उनलाई लोभ्याएको छ । उनी भन्छन् ‘मैले व्यवसाय सुरु गरेको ६ महिना मात्रै भएको छ, अहिले यसको लक्षण हेर्दा विदेशमा गर्ने कमाइ भन्दा पनि राम्रो घरमै बसेर गर्न सकिने रहेछ भन्ने लागेको छ ।’ व्यवसाय सुरु गर्दा कमाइ होला कि नहोला भन्ने प्रश्नले निकै पिरोल्ने गर्दछ । उनी सम्झन्छन् ‘सुरुमा कमाइ होला कि नहोला भनेर डर नै लाग्थ्यो तर अहिले म कन्फिडेन्स छु, राम्रो सेवा दिदा व्यवसाय फस्टाउछ ।’ पछिल्लो समय वर्थडे, एनिभर्सरी जस्ता कार्यक्रमहरु घरका परिवारबीच केक काटेर मनाउने प्रचलन छ । बजारबाट दैनिक केक बोकेर आएको दृष्य देखेका उनले गाउँमा नै केक बनाउने व्यवसाय गरे सफल हुन्छ भन्ने विश्वासकासाथ उनले व्यवसाय सुरु गरेका हुन् । नभन्दै अहिले दैनिक केक अर्डर गर्न आउनेको संख्या बढ्दो छ । केकका अलावा उनले पसलमा युवाहरुलाई लक्षित गरेर कफि सप पनि खोलेका छन् । कफिसँगै उनले पुस्तक पनि राखेका छन् पसलमा । युवाहरु भेला भएर पुस्तक पढ्दै उनको पसलमा कफि पिउछन् । उनी भन्छन् ‘म आफै पनि पुस्तक पढ्न रुचाउछु, यसरी पसलमा पुस्तक राख्दा युवाहरुमा पुस्तक पढ्ने बानीको विकास पनि हुन्छ । जुन एकदम राम्रो कुरा हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार