रंगेलीको आँखा शिविरमा स्वास्थ्यकर्मीमाथि मापसे गरी आक्रमण, २ जना पक्राउ

सोमबार, ०४ चैत्र २०८१
विराटनगर : मोरङको रंगेलीमा आँखा शिविर चलिरहेको स्थानमा सोमबार अपराह्न स्थानीयले आक्रमण गरेका छन् । रंगेली नगरपालिका–७ पिपल चोकमा आँखा शिविर सञ्चालन भइरहेका बेला आक्रमण भएको हो । प्रहरीका अनुसार विराटनगरको रानी आँखा अस्पतालले शिविरको आयोजना गरेको थियो । शिविरमा बिरामीको आँखा परीक्षण भइरहेका बेला मदिरा सेवन गरेर आएकाहरूले अपराह्न ५ बजेतिर आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार आक्रमणबाट आँखा अस्पतालका कर्मचारीसहित ४ जना घाइते भएका छन् । आक्रमणमा संलग्न रंगेली–७ का ४२ वर्षीय धीरेन मण्डल, २७ वर्षीय रामधना मण्डललाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ । ‘आँखा शिविर चलिरहेका बेला मादक पदार्थ सेवन (मापसे) गरेर आएकाहरूले सुरुमा आँखा परीक्षण गर्न लगाएछन् । त्यसपछि निहुँ खोजेर झगडा गर्दा थालेको पाइयो । अनि एक्कासि आक्रमण गर्न थालेछन्,’ प्रहरी स्रोतले भन्यो । होहल्ला हुन थालेपछि भालालगायतका घरेलु हतियारसहित स्थानीय आक्रमणमा उत्रिएका थिए । उनीहरूले अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्षित गरेर आक्रमण गरेको प्रहरीको भनाइ छ । अस्पतालका मार्केटिङ इन्चार्ज अमर साह र ओप्टोमेट्रिस्ट सन्तोष यादवसहित ५ जनाको टोली आँखा शिविर सञ्चालनका लागि रंगेली पुगेको थियो । टोलीले १ सय २० जनाको आँखा परीक्षण गरिसकेपछि घटना भएको हो । आँखा परीक्षण गर्नेमध्ये २२ जनालाई थप उपचार एवं शल्यक्रियाका लागि रेफरसमेत गरिएको थियो । आक्रमणपछि आँखा शिविर बिथोलिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार