धरान : धरान उपमहानगरपालिका भित्र रहेका क्याम्पसहरूमा स्ववियु निर्वाचनको मतदान शान्तिपूर्वक सम्पन्न भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहेकोमा जम्मा २१ सय ५० मत खसेको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठले बताए ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कुल मतदाता संंख्या ९ सय ६२ रहकोमा ७ सय ८५ मत खसेको निर्वाचन अधिकृत राम शोभित यादवले जानकारी दिए ।
त्यस्तैगरी पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा २ हजार ३ सय ६२ मतदाता रहेकोमा १८ सय मत खसेको निर्वाचन अधिकृत विनयलाल श्रेष्ठले बताए ।
महेन्द्र क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट सभापतिमा नेबिसंघका प्रशान्त राई, अनेरास्ववियु क्रान्तिकारीको तेजबहादुर दुमी, समाजवादी विद्यार्थीका युवराज राई अलौकिक, अनेरास्ववियु क्रान्तिकारी मोहन वैद्य किरणबाट अमृता राई उम्मेदवार रहेका छन् ।
हात्तीसार क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट अनिरुद्ध श्रेष्ठ(कृश) सभापति पदको उम्मेदवार रहेका छन् । अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूह गठबन्धनका स्वतन्त्र समूहको पेशल राज कार्की सभापतिको उम्मेदवार छन् ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघबाट सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारीका करण मगर, अनेरास्ववियुको ईश्वर बन्जाडे, समाजवादी विद्यार्थीबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको सविन धिताल सभापतिका उम्मेदवार छन् ।
निर्वाचन भएका क्याम्पसहरूमा मतगणनाका लागि तयारी भइरहेको छ ।
प्रतिक्रिया