सङ्खुवासभामा वर्षासंगैको चट्याङले ४२ वटा भेडा मरे, ८ लाख बराबरको क्षति

शनिबार, ०९ चैत्र २०८१
विराटनगर : संखुवासभामा वर्षासँगै परेको चट्याङले लागेर १ जना कृषकले पालेका ४२ वटा भेडा मरेका छन् । मकालु गाउँपालिका–३ का टेकबहादुर मेघी गुरुङले पालेका भेडालाई चट्याङले हानेको थियो । उनको भेडीगोठमा शुक्रबार राति करिब ११ः३५ बजेतिर चट्याङ परेको थियो । मेघीले २ सय ५० वटा भेडा पालेका थिए । संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार भेडीगोठमा रहेका २ सय ५० वटामध्ये चट्याङले लागेर ४२ वटा भेडा मरेको पाइएको छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी बस्नेतले घटनाको मुचुल्का आइतबार मात्रै उठाइने बताए । ‘घटनाको जानकारी पाएर प्रहरी घटनास्थल पुगेको छ । चट्याङले भेडा मर्दा ठूलो क्षति पुगेको पाइयो । यद्यपि, शनिबार ढिला भएका कारण घटनास्थल मुचुल्का उठाउन सकिएन । आइतबार मुचुल्का उठाइसकेपछि क्षतिको विवरण यकिन हुन्छ,’ उनले भने । चट्याङले भेडा मर्दा करिब ८ लाख बराबरको क्षति भएको मेघीले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार