काठमाडौँ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका ९१ प्रतिशतभन्दा बढी पीडक चिनजानका व्यक्ति हुने गरेको पाइएको छ । नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन् ।
प्रहरीमा दर्ता भएका ती मुद्दामा दुई हजार २६३ अभियुक्त रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार, घर मालिक, केटा साथीजस्ता सामान्य चिनजानका एक हजार २०६, छिमेकी ५७३ र पारिवारिक नाताका २६५ अभियुक्त रहेका छन् । त्यस्तै, अपरिचित २०० र शिक्षक १९ जना अभियुक्त छन् ।
पारिवारिक नाताका अभियुक्तमा पीडितको बुवा, श्रीमान्, काका, मामा, दाजुभाइ, हजुरबुबा, भिनाजु, भतिज, छोरा, देवर, जेठाजु, ससुरा र ससुरा पर्ने सबै खाले सम्बन्धका अभियुक्त रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी नायब महानिरीक्षक आचार्यले महिला तथा बालबालिकामा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि सानैदेखि बालबालिकालाई यौन हिंसासम्बन्धी शिक्षा दिएर सचेत गराउनुपर्ने बताए । यौनजन्य हिंसा न्यूनीकरणका लागि परिवार, विद्यालय र समाज सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।
“बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ । उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ ९राम्रो र नराम्रो छुवाइ० का बारेमा बुझाउनु पर्दछ । बालबालिकामा यो नराम्रो हो, गलत हो भन्ने थाहा हुनुपर्छ”, उनले भने , “अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ ।”
प्रतिक्रिया