इलाम : इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको बीभत्स हत्या भएको छ।
१५ दिनदेखि बेपत्ता रहेकी उनलाई हत्या गरेर गाडिएको अवस्थामा फेला परेको हो। प्रहरी अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशङ्कामा उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिइएको छ।
बिमला गत चैत १ गतेदेखि बेपत्ता भएकी थिइन्। परिवारका सदस्यहरूले निरन्तर खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले खोजी प्रक्रिया अगाडि बढाएको थियो।
प्रहरीको अनुसन्धानपछि फाकफोकथुम गाउँपालिका-२ धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा शव गाडिएको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार शव गाडिएको अवस्थामा भेटिएपछि उत्खननको गरीएको छ।
शवको पहिचान भइसकेको छ भने कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ।
प्रहरी अनुसन्धानका क्रममा विमला गर्भवती भएको खुलासा भएको छ। चिकित्सकहरूले उनको बच्चा जन्मिने मिति चैत १८ गते तोकेको बताइएको छ।
प्रहरीले सङ्कलन गरेको प्रारम्भिक प्रमाणअनुसार हत्यापछि उमेश गिरीले जेसीबी प्रयोग गरी विमलाको शव गाडेको खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिइएको छ भने घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया