प्रदर्शनकारी संयमित नहुँदा बिथोलियो राजावादीहरूको कोणसभा

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौँ । आज शुक्रवार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरूको आमसभा अन्ततः तितरबितर भएको छ । विभिन्न क्षेत्रबाट र्‍यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरूले सुरुदेखि नै संयमता गुमाउँदा स्थिति भड्किएको थियो । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको थियो । मञ्च खाली गरेर प्रदर्शनकारीहरू तितरबितर भएको र भौतिक संरचनाहरूको तोडफोड एवम् आगजनीमा उत्रिएका थिए । प्रदर्शनकारीले तीनकुने क्षेत्रका ६ घरमा तोडफोड गरेको साथै एक घरमा आगो लगाएका थिए । घरमा आगलागी भएपछि आगो निभाउन पुगेको दमकललाई आन्दोलनकारीले ढुङ्गा प्रहार गरी धेरै बेरसम्म अवरोध गरेका थिए । त्यस्तै राजावादी आन्दोलनका कमान्डर घोषित दुर्गा प्रसाईँ स्थिति नियन्त्रण बाहिर गएपछि तीनकुनेबाट बाहिरिएका थिए । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । सोही क्रममा प्रसाईँ निजी गाडीमा बसेर बाहिरिएका थिए । राजावादीका अन्य अगुवाहरू भने तीनकुने क्षेत्रमै बसेर ढुंगामुढालाई नियालेका थिए । प्रदर्शनकारीहरूले आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेका थिए भने नजिकै रहेको अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि तोडफोड गरेको नेपाल न्यूज बैङ्कका प्रतिनिधि सरोज शाहीले जानकारी दिए । त्यस्तै उनीहरूले सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरे भने कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा लुटपाट मच्चाएका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार