काठमाडौं : काठमाडौंमा राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले ज्यान गुमाएका छन्।
तीनकुनेस्थित चौरमा 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियान'को नाममा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा कीर्तिपुर नगरपालिका-४, गाम्चाका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो। गोली लागेपछि उनी ढलेका थिए र त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो।
तर, चिकित्सकहरूले उनलाई अपरान्ह ४ बजे मृत घोषित गरे। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ।
त्यसैगरी, राजावादीहरूको उग्र प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनीको घटना घटेको छ। उक्त आगजनीका कारण एभिन्यूज टेलिभिजनका क्यामेरा म्यान सुरेश रजकको ज्यान गएको हो।
प्रहरीले घटनाको बारेमा औपचारिक विवरण खुलाएका छैनन्, तर प्रारम्भिक जानकारी अनुसार रजकको शव जलेर नचिनिने अवस्थामा भेटिएको छ।
उक्त भवनमा राजावादीहरूले आगो लगाएका थिए र यसअघि ढुंगा हानी शिशा फुटाइ दिएका थिए। प्रहरी घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया