इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका-१३ स्थित स्वस्तिक पिठो मिलमा चोकर लोड गर्ने क्रममा ट्र्याक्टर लडेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ४ बजे रामधुनी नगरपालिका-४, सिंगियाबाट चोकर लिन गएका ३० वर्षीय विरेन चौधरी ट्र्याक्टरबाट लड्दा गम्भीर चोट लागेर विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत थिए।
शनिबार बिहान ८:३० बजे उनका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले खनारस्थित सोही मिल पुगेर अनुसन्धान गरेको थियो।
प्रहरीका अनुसार सिसिटिभी फुटेजमा चौधरी आफैं लडेको देखिएको छ। गम्भीर चोटका कारण उनी बोल्न नसक्ने अवस्थामा थिए।
आइतबार दिउँसो ३ बजे परिवारले उपचार सम्भव नभएको भन्दै उनलाई घर लगेको जानकारी प्राप्त भएको थियो। सोही दिन साँझ ५:३० बजे घर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको र शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न को २ त ३०९० नम्बरको ट्र्याक्टरका साहु खगेन्द्र कार्की रहेको खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया