संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

बुधबार, २० चैत्र २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कृति र मूल्य नबिर्सन आग्रह गरेका छन् । पौडेलले जनताको अभिमत लोकतन्त्रमा सबैभन्दा ठूलो हुने बताउँदै, संविधानको भावना र मर्म बिर्सिए जनताले स्वीकार नगर्ने स्पष्ट पारे। रेडियो नेपालको हीरक महोत्सव उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने 'संविधानले नागरिकलाई असहमति जनाउने अधिकार दिएको छ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको विशेषता हो। तर, यो अधिकार प्रयोग गर्दा जिम्मेवारी बोध गर्न आवश्यक छ।' पौडेलले स्वतन्त्रताको नाममा हुने हिंसा, आगजनी, तोडफोड, लूटपाट स्वीकार्य नहुने भन्दै कानुनी राज्यको परिपालना आवश्यक रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले प्रेस स्वतन्त्रताको ग्यारेण्टी संविधानमा गरिएको स्मरण गराए । साथै, हालै काठमाडौंमा भएको घटनामा भएको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै, सञ्चारमाध्यम विपद्को बेला नागरिकको भरोसाको केन्द्र भएको बताए । रेडियो नेपालले लोकतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताउँदै उहाँले २००७ सालको जनक्रान्ति र रेडियो नेपाललाई नेपालको इतिहासका जुम्ल्याहा घटना भने । संस्थापक तारिणीप्रसाद कोइरालाको योगदान स्मरण गर्दै उहाँले सार्वजनिक सेवा प्रसारण संस्थाको रूपमा रेडियो नेपालले प्रभावकारी रूपमा कार्य गर्नुपर्नेमा जोड दिए। सूचनाप्रविधिको विकासले सञ्चारको स्वरूप बदलिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको दुरुपयोगबाट जनतालाई भ्रमित हुन नदिन सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताए। कार्यक्रममा वरिष्ठ संगीतकार रत्नकुमारी गुरुङ, रत्न बेहोषी, मोहनप्रसाद जोशीलाई सम्मान गरियो भने गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार