वायु प्रदूषण केही दिन यथावत् रहने, सचेत रहन विज्ञको सुझाव

विहीबार, २१ चैत्र २०८१
काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार बिहीबार काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ । यसअघि गएको सोमबारदेखि हिजो(बुधवार)सम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म बादल लागेको छ । जसका कारण मानिसको स्वास्थ्यमा विभिन्न किसिमको समस्याहरू देखिनासाथै हवाई उडानमा समेत प्रभावित भइरहेको छ । मौसमविद् रोजन लामिछानेले वन डढेलो, सुख्खापन, धुलो र धुवाँको कारण अहिले प्रदूषण बढिरहेको भन्दै मौसम पूर्वानुमान अनुसार अझै तीन दिनसम्म प्रदूषण यथावत् नै रहने जानकारी दिए । शुक्रवार केही मात्रामा हावाहुरीको अवस्था अलिकति बढे पनि मौसमको प्रणाली पनि नेपालमा नआइहाल्ने हुनाले प्रदूषण पूर्ण रूपमा हटाइहाल्ने अवस्था नरहेको उनी बताउँछन् । उनले भने,‘विशेष गरी अहिले प्रि–मनसुनको सिजनमा छौं । मार्च, अप्रिल, मे भनेर अङ्ग्रेजी महिना छन् त्यो समयमा चाहिँ हावाहुरी लाग्ने गर्छ । अहिले पानी नपरेको कारण सुख्खापन छ । विगत केही हप्तादेखि नै त्यो अवस्था देखिरहेको छ । त्यसको कारणले पनि प्रदूषण बढ्ने र वन डढेलाको कारण धुलो धुवाँले पनि तीन दिनसम्म प्रदूषण घट्ने अवस्था देखिदैन ।’ उनका अनुसार अहिले बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् । विगत केही दिन यता प्रदूषण र बिहानको समयमा बाक्लो तुवाँलो लागिरहने अवस्था सृजना भएको हुँदा आन्तरिक र बाह्य दुवै किसिमको हवाई उडानहरूमा प्रभावित भइरहेको उनले जानकारी दिए । केही दिन अझै पनि मौसममा फेरबदल नहुने, पानी नपर्ने अवस्थादेखि रहेका कारणले आँखा पोल्ने, स्वास्थ्य समस्या अझ पनि देखा पर्ने, रोगहरू लाग्न सक्ने सम्भावनाहरू बढ्ने देखिएको उनले जानकारी दिए । यस्तो मौसमले कृषि, स्वास्थ्य, हवाई, पर्यटन सबै क्षेत्रहरूमा असर गरिरहेको छ भन्दै त्यसबाट बच्न र आवश्यक सावधानी अपनाउन उनको आग्रह छ । एकदमै पानी पर्ने र मौसम परिवर्तन हुने अवस्था आए मात्र यस्तो यो प्रदूषण हट्ने र वातावरण राम्रो हुने उनी बताउँछन् । ‘नेपालसँग वायु प्रदूषण हटाउने प्रविधि छैन, हटाउनका लागि कि एकदमै हावाहुरी लाग्नुपर्छ र पानी पर्नुपर्छ । पानी पर्ने, हावा लाग्ने अवस्था केही समयको लागि देखिएको छैन । त्यही भएर यो समस्या केही दिन रहने देखिन्छ,’उनले भने । आइएफआर प्रविधि आइएफआर प्रविधि विशेष गरेर मौसम खराब भएको बेला, बादल र हुस्सु लागेको बेला, हालको जस्तो प्रदूषण भएको बेला साथै रनवेहरु नदेखिने अवस्थामा यस्तो प्रविधिको प्रयोग हुने गरेको प्राविधिकहरूले बताउने गरेका छन् । ‘मौसम बिग्रिएको समयमा सायद आइएफआर गर्दा ठिकै हुन्थ्यो । सबै कुराहरू मिल्यो भने त्यो सम्भव हुन्छ । नभए नेपालमा भिजिबल उडान मात्र हुन्छ । विशेष गरी मौसम सफा भएको अवस्थामा अथवा भिजिबिलिटी राम्रो भएको अवस्थामा प्लेन ल्यान्ड गर्ने काम हुन्छ,’मौसमविद् लामिछानेले भने । चिकित्सकको नजरमा प्रदूषण इन्टरनल मेडिसिन फिजिसियन डा.रुपनारणयण शाहले चैत र वैशाखको सिजनमा बिस्तारै तापक्रम बढेर गर्मी बढ्न थाल्ने र सवारी साधनहरूको चाप पनि बढिरहेको हुँदा प्रदूषण पनि बढिरहेको बताए । प्रदूषणका कारण श्वासप्रश्वास छाला, आँखा सम्बन्धी रोगहरू देखा पर्ने उनको भनाई छ । प्रदूषणले छातीमा समस्या हुने, एलर्जीको बढी समस्या हुने बिरामीहरूलाई अझै बढी समस्या हुने हुँदा बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने उनी बताउँछन् । उनले भने,‘जाडोबाट गर्मी सुरु भएको छ । चैत र वैशाखको सिजनमा बिस्तारै तापक्रम बढ्ने, गर्मी बढ्न थालेको छ । यस्तो बेलामा दीर्घ रोगी, छातीमा समस्या हुनेहरूलाई धेरै कठिन हुन्छ । एलर्जीका बिरामीहरूलाई समस्या हुने गर्छ । त्यसैले बिरामीहरू घरबाट बाहिर निस्कँदा मास्क लगाउनुपर्छ ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार