अवार्ड कार्यक्रममा के–के भयो ?कार्यक्रममा कर्पोरेट मिडियाका अध्यक्ष शाहले प्रमुख अतिथि मन्त्री राई र विशेष अतिथि मन्त्री अधिकारीसहित अवार्ड छनोट समिति संयोजक भवानी राणा तथा सदस्यहरू प्रदीपलाल श्रेष्ठ, फुपु तेञ्जिङ शेर्पा, प्रेमलाल महर्जनलाई मायाको चिनो प्रदान गर्नुभयो । यस्तै, स्पोन्सरहरू सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल टेलिकम, श्रेष्ठ कम्पनी प्रालि र फेसियल हाउसलाई पनि मायाको चिनो प्रदान गरियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रदीप श्रेष्ठ, साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ, राजनीतिक विश्लेषक प्रकाशजंग रायमाझीलगायत उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, वाणिज्य तथा विकास बैंक, जीवन तथा निर्जीवन बीमा कम्पनीका सीईओहरू र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहने गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहले स्वागत मन्तव्य, उपाध्यक्ष सुष्मा महराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चारकर्मी रोजन शाक्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कला र संस्कृति झल्किनेलगायत विभिन्न सांगीतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो । कर्पोरेट मिडियाले समग्र निजी क्षेत्रलाई उत्साहित गर्दै उद्योग व्यवसायको क्षेत्रमा नयाँ रक्तसञ्चार गर्ने विश्वासका साथ हरेक वर्ष निरन्तर रूपमा कर्पोरेट अवार्ड आयोजना गर्दै आएको छ ।
कर्पोरेट अवार्डको बारेमाकर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन) ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको सेरोफेरो पारेर आयोजना गर्दै आइरहेको ‘कर्पोरेट बिजनेश अवार्ड’ नेपालमा एक प्रतिष्ठित सम्मान कार्यक्रम हो । यसले विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र संघ संस्थाहरूलाई उनीहरूको उत्कृष्ट योगदानको मूल्याङ्कन गरी कदर गर्दै आइरहेको छ । व्यावसायिक क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरी उनीहरूलाई थप हौसला प्रदान गर्दै जिम्मेवार बनाउने यो अवार्डको मुख्य उद्देश्य छ । कर्पोरेट मिडियाले विगत १६ वर्षदेखि निरन्तर रूपमा यो अवार्ड कार्यक्रम गर्दै आएको छ । विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्नुहुने अनुभवी व्यक्तित्वहरू सदस्य रहनुभएको अवार्ड छनोट समिति गठन गरी सो समितिले आवश्यक प्रक्रिया पूरा गरी चुनेको व्यक्ति वा संस्थालाई अवार्ड प्रदान गरिँदै आएको छ । ‘कर्पोरेट बिजनेस अवार्ड’ले नेपालका उद्योगी तथा व्यवसायीहरूलाई प्रोत्साहित गर्दै उहाँहरूको योगदानको कदर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रतिक्रिया