इटहरी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्यले बढ्दो बसाइँसराइलाई रोक्नका लागि व्यवस्थित शहरी नीति आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटीअन्तर्गत शहरी विकास विभागले इटहरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले शहरको योजनाबद्ध विकासले मात्र नागरिकको जीवनस्तर उकास्न सकिने र राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुग्ने बताए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै आचार्यले वर्तमान समयमा नेपालका प्रमुख शहरहरूमा हुने अव्यवस्थित बसोबास, ट्राफिक जाम, फोहोरमैला व्यवस्थापनको समस्या र सामाजिक असन्तुलनको जड नै असंगठित शहरीकरण रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भगवती चौधरीले ‘एक शहर, एक पहिचान’ को अवधारणा अघि सार्दै प्रत्येक शहरको विशिष्टता झल्काउने किसिमको विकास नीति आवश्यक रहेको धारणा राखिन्। शहरी विकास विभागका सदस्य सुनिल नेपालले विभागको तर्फबाट कोशी प्रदेशका शहरहरूलाई व्यवस्थित र समावेशी बनाउने उद्देश्यले तयार गरिएको कार्यपत्र प्रस्तुत गरे ।
उक्त कार्यपत्रमा आधारित भएर विषय विज्ञहरू गणेश दाहाल, लिलाराज भट्टराई, लेखनाथ घिमिरे, शालिग्राम ढकाल र मानध्वज मोक्तानले टिप्पणी प्रस्तुत गर्नुभएको थियो। साथै, इटहरीका जनप्रतिनिधिहरू प्रभात आचार्य, भुवन पोखरेल र दिपक पोखरेलले पनि आआफ्नो क्षेत्रको अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।
शहर विस्तार तीव्र भए पनि योजना अभावका कारण समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै शहरी विकास विभाग प्रमुख लोकेश निरौलाले यस्तो खालको बहस र सल्लाह सुझाव अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । निरौलाले यसअघि विराटनगरमा पनि यस्तै कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए।
कार्यक्रमले शहरी विकाससँग सम्बन्धित सरोकारवाला पक्षहरूबीच सहकार्य र दीर्घकालीन सोचको आवश्यकता महसुस गराएको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया