सप्तरी : सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा दुई जना सशस्त्र प्रहरीका गोताखोर बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका जवान सुरज साउद र हरदेव राजवंशी बिहीबार अपरान्ह अभ्यासको क्रममा नदीमा बगेर हराएका हुन्।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार उद्धार अभ्यास हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ५४ र ५५ नम्बर ढोकाको उत्तरतर्फ भइरहेको थियो। अपरान्ह ४ बजेको आसपासमा गोताखोरहरू नदीमा खसेर बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
बाढी र पहिरोको समयमा उद्धार कार्यमा प्रयोग हुने सीप अभिवृद्धि गराउने उद्देश्यले सशस्त्र प्रहरी बल, मधेश प्रदेश कार्यालयले सो अभ्यास सञ्चालन गरेको हो। अभ्यासकै क्रममा अनपेक्षित रूपमा दुई जना सुरक्षाकर्मी बेपत्ता भएका हुन्।
उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाइएको छ।
सुरक्षा निकायले घटनाको गम्भीरताका साथ अनुसन्धान र खोजी कार्य अघि बढाएको छ भने बेपत्ता प्रहरीको सकुशल फिर्तीको लागि प्राथना र प्रयास जारी छ।
प्रतिक्रिया