काठमाडौँ : बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा धरौटीमा छुटेका चर्चित व्यवसायी तथा राजसंस्था पुनः स्थापनाका अभियन्ता दुर्गा प्रसाईँ आज कारागारबाट रिहा भएका छन्।
राजसंस्था र हिन्दुराज्यको पक्षमा चर्को आन्दोलन चालेका प्रसाईँलाई दुवै मुद्दामा छुट्ने आदेश प्राप्त भएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उनलाई लिन नेपाली काँग्रेसका सांसद सुनिल शर्मा आफैँ कारागार पुगेका थिए।
साथै, प्रसाईँको समर्थनमा ठुलो सङ्ख्यामा समर्थकहरू कारागार परिसरमा जम्मा भएका थिए। समर्थकको नाराबाजी र फूलमालासहित प्रसाईँलाई भव्य स्वागत गरिएको थियो।
शर्माका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईँलाई आफूहरूको जिम्मा लगाउन पत्राचार गरिसकेको भए पनि आज उनी आफ्नै निवास फर्किएका छन्।
शर्मा भन्छन्, “आजको लागि उहाँ घर जानुभएको छ, सम्भवतः आज सीआईबीले उहाँलाई पक्राउ गर्ने छैन।”
उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईँलाई बैङ्किङ कसुरसम्बन्धी मुद्दामा २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
आदेशमा भनिएको छ, “प्राप्त प्रमाणहरूबाट प्रतिवादी दुर्गा प्रसाईँ निर्दोष छन् भन्ने अवस्था हाल देखिएको छैन, तर उनी धरौटीमा छाड्न सकिने अवस्था देखिन्छ।”
त्यसैगरी, उच्च अदालत पाटनका अर्का न्यायाधीश टङ्कप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले राजावादी आन्दोलनसँग जोडिएको हिंसात्मक घटनाको मुद्दामा तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो।
प्रसाईँमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव लगायत गम्भीर अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि प्रसाईँले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। अदालतले उनीमाथि तत्काल पुरापुर दोष प्रमाणित हुन नसक्ने ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।
रिहाइपछि प्रसाईँले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। अब सीआईबीले उनलाई पुनः पक्राउ गर्ने वा अनुसन्धान अघि बढाउने भन्नेबारे चासो बढेको छ।
प्रतिक्रिया