धरान : विश्व वातावरण दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) पूर्वाञ्चल क्याम्पस धरानको २३औँ कार्यसमितिले ‘प्लास्टिक देऊ, बिरुवा लैजाऊ’ अभियान सञ्चालन गरेको छ।
प्लास्टिक फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको सन्दर्भमा वातावरणीय चेतना फैलाउन अभियान सुरु गरिएको हो।
कार्यक्रममा क्याम्पसका विद्यार्थी मात्र होइन, स्थानीय बासिन्दाहरूको पनि सक्रिय सहभागिता रहेको क्याम्पस सभापति प्रभाव कटवालले जानकारी दिए।
अभियान अन्तर्गत क्याम्पस भित्र र वरिपरिका क्षेत्रबाट झन्डै ३५ केजी प्लास्टिक बोतल सङ्कलन गरिएको छ, जुन रिसाईकलका लागि पठाइनेछ।
धरान–८ स्थित अरनिको मेमोरियल बोडिङ स्कुलमा पनि अभियान सञ्चालन गरिएको थियो। सोही स्कुलका २ सय विद्यार्थीहरूले करीब ५ सय वटा प्लास्टिक बोतल सङ्कलन गरी नेविसंघलाई हस्तान्तरण गरेका छन्।
अभियानको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सभापति राजीव ढुङ्गाना रहेका थिए।
कार्यक्रममा नेविसंघका पूर्व उपसभापति विकास केसी, नेपाली कांग्रेस सुनसरी–२ ‘क’ सभापति सुभेक्क्षुक देवान, नेता उमेश सुब्बा, र महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ सभापति विनोद आले मगरलगायतको उपस्थिति रहेको थियो।
यो अभियानले प्लास्टिकको प्रयोग न्यूनीकरण गर्दै वातावरणप्रति सचेतना फैलाउने उद्देश्य लिएको आयोजकले जनाएका छन्।
प्रतिक्रिया