दमौली : तनहु जिल्लामा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् भने जिपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
बन्दीपुर गाउँपालिका–१ सिम्ले घुम्तीमा आज बन्दीपुर गाउँपालिका–३ आहाले बस्ने ३८ वर्षीय रुपलाल भुजेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर डुम्रे सडकखण्डबाट करिब १५ मिटर तल बारीमा भुजेलको शव भेटिएको हो ।
यस्तै, भानु नगरपालिका–९ काउरेटार बस्ने १७ वर्षीया रमा कुमाल आज मृतावस्थामा भेटिएकी छन् । आइतबार राति शौचालय जान्छु भनी घरबाट निस्किएकी उहाँको शव पालुङटार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले ठक्करले घाइते भएपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा उनको मृत्यू भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया